काठमाडौं । राहदानी छपाई प्रकरणबारे मंगलबार बस्ने तय भएको सार्वजनिक लेखा समितिको बैठक विषयवस्तुमा प्रवेश नगरी स्थगित भएको छ।
अदालतमा विचाराधीन रहेको मुद्दामा समितिले छलफल गर्न नमिल्ने भन्दै सांसदहरूले आपत्ति जनाएपछि बैठकमा उक्त एजेन्डामाथि छलफल हुन सकेन। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले एजेन्डा परिवर्तन गर्न माग गरेका थिए।
सांसद गणेश पराजुलीले राहदानी प्रकरण न्यायिक परीक्षणमा रहेको र यसको निरूपण अदालतबाट हुनुपर्ने बताए। सांसद क्रान्तिशिखा धितालसहित अन्य सदस्यहरूले पनि समितिको गरिमा कायम राख्न विचाराधीन मुद्दामा छलफल नगर्न आग्रह गरेपछि सभापति भरतबहादुर खड्काले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका हुन्।