काठमाडौं । साउन महिनामा पशुपतिनाथ दर्शनका लागि आउने भक्तजनको भीडलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले विशेष सफाइ अभियान सुरु गरेको छ।
कोषले पहिलो चरणमा पशुपतिनाथ मूल मन्दिर क्षेत्रदेखि सूर्यघाटसम्म सरसफाइ गरेको जनाएको छ। साउन महिना र सोमबार भगवान् शिवको आराधनाका लागि विशेष मानिने भएकाले यस अवधिमा ठूलो सङ्ख्यामा भक्तजन पशुपति आउने गर्छन्।
कोषका कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठका अनुसार भक्तजनलाई सहज र व्यवस्थित सेवा प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। साउनभर आवश्यकताअनुसार विशेष सफाइ गरिने र हरेक हप्ताको शनिबार नियमित सफाइ अभियानलाई निरन्तरता दिने तयारी रहेको उहाँले बताउनुभयो।
सफाइ अभियानको पहिलो दिन दर्जनभन्दा बढी संघसंस्थाको सहभागिता रहेको कोषले जनाएको छ। साथै, मन्दिर बन्द भएपछि गरिने सूक्ष्म सफाइमा सुरक्षा निकायलाई समेत सहभागी गराइने भएको छ।



