काठमाडौँ । प्रतिनिधिसभाको गत जेठ १७ गते भएको घटनाको छानबिन गर्न गठित समितिले सभामुख डोलप्रसाद अर्याललाई प्राप्त विशेषाधिकार प्रभावकारी रूपमा प्रयोग गर्न सुझाव दिएको छ।
समितिले संसद्मा अमर्यादित तथा उत्तेजक शब्द प्रयोग भएमा त्यस्ता अभिव्यक्ति अभिलेखबाट हटाउनेदेखि सम्बन्धित सांसदलाई बैठकबाट निष्कासन गर्नेसम्मका नियमावलीका व्यवस्था कडाइका साथ लागू गर्न सुझाव दिएको हो।
प्रतिवेदनमा सांसदहरूले प्रतिनिधिसभा नियमावलीमा उल्लेख आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्ने र त्यसको कार्यान्वयनमा सांसद, संसद् सचिवालय तथा सभामुखले गम्भीर भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिएको छ।
समितिले संसद् सञ्चालन सुधारका लागि अभिमुखीकरण, आचारसंहिता सचेतना, दलीय नेतृत्वको जिम्मेवारी वृद्धि, सुरक्षा तथा प्रविधि व्यवस्थापन सुधार, सीसीटीभी तथा अभिलेख व्यवस्थापन व्यवस्थित गर्नेलगायत सुझाव दिएको छ।
स्थलगत अध्ययन, श्रव्यदृश्य प्रमाण, प्रत्यक्षदर्शीको बयान र सम्बन्धित दस्ताबेजको विश्लेषणपछि तयार गरिएको प्रतिवेदनमा उक्त घटनाले संसदीय मर्यादाको उल्लङ्घन भएको, नियमावली कार्यान्वयनमा कमजोरी देखिएको र व्यवस्थापकीय चुनौती रहेको निष्कर्ष निकालिएको छ।
जेठ १७ गतेको घटनाबारे छानबिन गर्न जेठ १८ गते सभामुख अर्यालले समिति गठन गरेका थिए। समितिको संयोजकमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी तथा सदस्यमा बबिता मिश्र र गोपाल सिग्देल रहेका थिए।



