स्वास्थ्य, शिक्षा र समावेशी विकासमा बुढानीलकण्ठ नपाको मुख्य ध्यान

सामाजिक विकासमा २६ करोड ७५ लाखको बजेट विनियोजन


  • अस्पताल र विद्यालय सुदृढीकरणदेखि गुणस्तरीय शिक्षा र स्वास्थ्यसम्म

काठमाडौं । सुन्दर, शान्त र पर्यटकीय पहिचान बनाउँदै गएको बुढानीलकण्ठ नगरपालिकाले अब सामाजिक विकासलाई समृद्धिको मुख्य आधार बनाउने लक्ष्यसहित महत्वाकांक्षी कार्यक्रम अघि सारेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य, शिक्षा, युवा, खेलकुद, भाषा–संस्कृति तथा सामाजिक समावेशीकरणलाई केन्द्रमा राख्दै सामाजिक विकास क्षेत्रमा मात्रै २६ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नगरपालिकाकी उपप्रमुख अनिता लामाले प्रस्तुत गरेको बजेटले सामाजिक क्षेत्रलाई केवल सेवा प्रवाहको विषय नभई नागरिकको जीवनस्तर परिवर्तन गर्ने अभियानका रूपमा अघि बढाउने नीति लिएको देखिन्छ ।

नगरको लक्ष्य छ– स्वस्थ नागरिक, गुणस्तरीय शिक्षा, सक्षम युवा, सुरक्षित समाज र आफ्नो मौलिक पहिचानसहितको समृद्ध बुढानीलकण्ठ निर्माण गर्ने।

स्वास्थ्यमा विशेष प्राथमिकता : नगर अस्पताललाई सुविधासम्पन्न बनाइने

नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ । आगामी वर्ष जनस्वास्थ्य सेवा विस्तार, स्वास्थ्य पूर्वाधार सुधार तथा गुणस्तरीय उपचार सेवाका लागि विभिन्न कार्यक्रम अघि बढाइने भएको छ ।विशेषगरी बुढानीलकण्ठ नगर अस्पताललाई आधुनिक र सुविधासम्पन्न बनाउने योजनालाई बजेटले उच्च प्राथमिकता दिएको छ । नगर अस्पतालको सेवा विस्तार, जनशक्ति व्यवस्थापन, पूर्वाधार निर्माण तथा संस्थागत विकासका लागि मात्रै १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

२४ घण्टा सेवा सञ्चालनको दिशामा अघि बढिरहेको नगर अस्पताललाई अझ प्रभावकारी बनाउँदै नगरवासीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ । समग्र स्वास्थ्य क्षेत्रमा भने १४ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

 

यसअन्तर्गत—

प्रसुती हुने महिलालाई पोषण भत्ता मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रम आँखा तथा स्वास्थ्य परीक्षण शिविर नागरिक आरोग्य केन्द्र सुदृढीकरण औषधि तथा स्वास्थ्य उपकरण खरिद नसर्ने रोगको परीक्षण तथा सचेतना महिला प्रजनन स्वास्थ्य कार्यक्रम ज्येष्ठ नागरिकका लागि निमोकोकल खोप निःशुल्क रक्त व्यवस्थापन स्वास्थ्यकर खाद्य अभियान जस्ता कार्यक्रम सञ्चालन गरिनेछन् ।

शिक्षा सुधारमा नयाँ अभियान : सामुदायिक विद्यालयलाई पहिलो रोजाइ बनाउने लक्ष्य बुढानीलकण्ठ नगरपालिकाले शिक्षालाई सामाजिक रूपान्तरणको प्रमुख आधारका रूपमा लिएको छ ।सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी विद्यार्थी र अभिभावकको पहिलो रोजाइको विद्यालय बनाउने लक्ष्यसहित शिक्षा क्षेत्रमा ९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।नगरपालिकाले विद्यालय शिक्षामा गुणस्तर सुधारका लागि शिक्षक व्यवस्थापनदेखि प्रविधिमैत्री शिक्षासम्मका कार्यक्रम अघि सारेको छ ।

बजेटमा—

बाल विकास सहजकर्ताको प्रोत्साहन अंग्रेजी तथा विषयगत शिक्षक व्यवस्थापन शिक्षक बैंक स्थापना पुस्तकालय तथा बुक कर्नर विकास विद्यार्थी वृत्ति परामर्श
शिक्षक तालिम शैक्षिक अनुसन्धान प्राविधिक शिक्षा छात्रवृत्ति स्थानीय पाठ्यक्रम निर्माण मातृभाषा शिक्षाको प्रवद्र्धन अटिजम भएका विद्यार्थीका लागि विशेष सहयोग शैक्षिक सुधार कार्यक्रम लाई प्राथमिकता दिइएको छ । विशेषगरी उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहन गर्ने तथा संस्थागत विद्यालयसँग सहकार्य गर्दै शिक्षा क्षेत्रलाई थप व्यवस्थित बनाउने नीति लिइएको छ ।

युवालाई अवसर, खेलकुदलाई प्रोत्साहन

नगरपालिकाले युवा शक्तिलाई विकासको साझेदार बनाउने नीति लिएको छ । युवाको क्षमता विकास, सिर्जनशीलता र उद्यमशीलता प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न ५० लाख रुपैयाँ छुट्याइएको छ ।

यसअन्तर्गत—

युवा परिचालन तथा अभिमुखीकरण उद्यमशीलता विकास सूचना प्रविधि संवाद आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी सीप
युवा नेतृत्व विकास कार्यक्रम सञ्चालन गरिनेछन् ।त्यस्तै खेलकुद क्षेत्रलाई अनुशासन, स्वास्थ्य र नेतृत्व विकासको माध्यमका रूपमा लिँदै खेलकुद विकासका लागि थप ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।मेयर कप खेलकुद प्रतियोगिता, खेलाडी सम्मान तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि सारिएको छ ।

सामाजिक समावेशीकरण : सबैलाई साथ लिएर विकास गर्ने नीति

बुढानीलकण्ठले सामाजिक विकासलाई समावेशी बनाउने लक्ष्यसहित महिला, दलित, जनजाति, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा पिछडिएका समुदायलाई केन्द्रमा राखेको छ ।सामाजिक समावेशीकरण तथा सशक्तीकरणका लागि १ करोड ४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसअन्तर्गत—

महिला सीप तथा क्षमता विकास जीविकोपार्जन सुधार कार्यक्रम विपन्न तथा जोखिममा रहेका वर्गलाई सहयोग सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य
मनोसामाजिक परामर्श बालमैत्री स्थानीय शासन मानव अधिकार प्रवद्र्धन ज्येष्ठ नागरिक सहायता कार्यक्रम सडक मानवमुक्त अभियान जस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

संघसंस्थासँग समन्वय र सहकार्यका लागि २० लाख तथा सामाजिक सुरक्षा प्रणाली प्रभावकारी बनाउन २६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

भाषा, संस्कृति र पहिचान संरक्षणमा जोड

बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान बोकेको बुढानीलकण्ठले आफ्नो मौलिक संस्कृति संरक्षणलाई पनि प्राथमिकतामा राखेको छ ।नगरपालिकाले स्थापना गरेको बुढानीलकण्ठ सांस्कृतिक प्रतिष्ठानमार्फत भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने योजना अघि सारेको छ ।सांस्कृतिक क्षेत्रको प्रवद्र्धनका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।नगरभित्र रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सांस्कृतिक पहिचानको प्रवद्र्धन र पर्यटनसँग जोड्ने लक्ष्य लिइएको छ ।

सामाजिक विकासलाई समृद्धिको मेरुदण्ड बनाउने लक्ष्य

बुढानीलकण्ठ नगरपालिकाको आगामी बजेटले भौतिक विकाससँगै मानव विकासलाई पनि समान महत्व दिएको देखिन्छ ।स्वास्थ्यमा पहुँच, शिक्षामा गुणस्तर, युवामा ऊर्जा, संस्कृतिमा पहिचान र सामाजिक समावेशितामार्फत नगरलाई अझ व्यवस्थित, सभ्य र समृद्ध बनाउने लक्ष्य बजेटले बोकेको छ ।२६ करोड ७५ लाख रुपैयाँको यो सामाजिक विकास लगानी केवल बजेट अंक होइन, बुढानीलकण्ठको भविष्य निर्माण गर्ने सामाजिक रूपान्तरणको आधार बन्ने अपेक्षा गरिएको छ ।

२०८३ असार १५, सोमबार १४:४४ प्रकाशित
ट्रेन्डिङ समाचार