
काठमाडौं । सातोको तेस्रो कारोबारको दिन मङ्गलवार नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्सेले सोही क्रमलाई निरन्तरता दिएको हो ।
नेप्से परिसूचक २८.९१ अङ्क बढेर २६६०.३९ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.१९ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स २.३६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२७ अङ्क बढेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ६ अर्ब ३८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३०९ स्टकको ७० हजार २१४ पटकको कारोबारमा ७ अर्ब ३ करोड ३० लाख ५० हजार रुपैयाँबराबरको १ करोड ५७ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
सामुदायिक लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावरका सेयरमूल्य सर्वाधिक ९.८७ प्रतिशत बढेको छ । त्यस्तै, बरुण हाइड्रोपावर कम्पनीको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको युनिलिभर नेपालको सेयरमूल्य २.१३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४६ करोड १६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, राधी विद्युत् कम्पनीको साढे ४५ करोडभन्दा बढीको सेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको करिब २६ करोडको सेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । लगानी उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैङ्क, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो ।