काठमाडौँ । काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत नियमविपरीत साइलेन्सर तथा अन्य पार्टपुर्जा परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकल नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार कारबाही गरिनेछ। साथै, कम्पनीले निर्धारण गरेको मूल स्वरूपमा फर्काएपछि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित धनीलाई फिर्ता गरिने प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सवारी साधनको स्वरूप परिवर्तन गरी अनावश्यक आवाज निकाल्ने कार्य नगर्न तथा कम्पनीले तोकेको मापदण्डअनुसार सवारी सञ्चालन गर्न चालकलाई आग्रह गरेको छ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेको निर्देशनमा सञ्चालन भइरहेको उक्त अभियानलाई निरन्तरता दिइने कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो।




प्रतिक्रिया