काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे–अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात गर्न अनुमति दिएको हो।
प्राधिकरणले आगामी १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न पाउनेछ। कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया प्रसारण लाइनमार्फत ५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार भारतबाट विद्युत् आयातको अनुमति प्राप्त भएसँगै आगामी हिउँदयाममा माग र आपूर्तिको व्यवस्थापन सहज हुनेछ।
अनुमानअनुसार पुसदेखि चैतसम्म आन्तरिक उत्पादनभन्दा विद्युत् माग बढी हुनेछ। विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने देखिएको छ। उच्च माग हुने समयमा भने ८०० देखि ९०० मेगावाटसम्म विद्युत् आयात आवश्यक पर्ने अनुमान छ।
यसैबीच, प्राधिकरणले तीन जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ। आगामी वैशाखदेखि नदीमा पानीको बहाव बढेसँगै आन्तरिक उत्पादन वृद्धि हुने र विद्युत् आयात घट्दै निर्यात सुरु हुने प्राधिकरणको अनुमान छ।




प्रतिक्रिया