ADVERTISEMENT

९० वर्षको गौरवमय यात्रा पूरा, नेपाल बैंकले मनायो भव्य वार्षिकोत्सव

डिजिटल बैंकिङ विस्तारदेखि वित्तीय समावेशीकरणसम्म जोड, २३० शाखा र ५७ एक्सटेन्सन काउन्टरमार्फत सेवा विस्तार

काठमाडौं। नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । बैंक स्थापनाको ९० वर्ष पूरा भएको अवसरमा सोमबार आयोजित विशेष समारोहमा बैंकले आफ्नो ऐतिहासिक योगदान, उपलब्धि तथा आगामी कार्यदिशालाई प्रस्तुत गरेको हो ।

वि.सं. १९९४ साल कात्तिक ३० गते स्थापना भई सञ्चालनमा आएको नेपाल बैंक लिमिटेडले २०८३ कात्तिक ३० गते आफ्नो ९० वर्षको यात्रा पूरा गरेको हो । बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोह अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलको विशिष्ट आतिथ्यता रहेको थियो । बैंक सञ्चालक समितिका सदस्य बर्दी खनालले समारोहको अध्यक्षता गरेका थिए ।

९० वर्षको गौरव, आधुनिक बैंकिङतर्फको छलाङ

वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकको डिजिटल कर्जा ‘फोन लोन’, ‘बाइ नाउ पे लेटर’ (BNPL) क्रेडिट कार्ड तथा अनलाइन कर्जा आवेदन पोर्टलको शुभारम्भ गरेका छन् । यी सेवाले उत्पादनशील क्षेत्रका उद्यमशीलता प्रवर्द्धन, वित्तीय पहुँच विस्तार तथा बैंकिङ सेवाको आधुनिकीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको बैंकले जनाएको छ ।

बैंकले उत्पादनशील क्षेत्रको कर्जा प्रवाह, उद्यमशीलता प्रवर्द्धन, पर्यटन तथा साना उद्योग व्यवसायमा लगानी विस्तार गरी उत्पादन र रोजगारी सिर्जनामा योगदान गर्ने लक्ष्य अघि सारेको छ । साथै, वित्तीय समावेशीकरण, डिजिटल रूपान्तरण, वित्तीय साक्षरता तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै बैंकिङ सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

२३० शाखा र ५७ एक्सटेन्सन काउन्टरबाट सेवा

नेपाल बैंकले देशभर २३० वटा शाखा, २४० वटा एटीएम तथा ५७ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकका अनुसार यसबाट २९ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा पुर्‍याइएको छ ।

अन्तर्राष्ट्रिय स्तरको बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्दै बैंकिङ क्षेत्रमा प्रतिस्पर्धी संस्थाका रूपमा आफूलाई स्थापित गराएको बैंकले जनाएको छ । प्रविधिमैत्री सेवा विस्तार गर्दै बैंकिङ पहुँचलाई थप सहज र व्यापक बनाउने अभियानलाई निरन्तरता दिइएको छ ।

विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्ने पहललाई बैंकले प्राथमिकतामा राखेको छ ।

उत्कृष्ट कर्मचारीलाई दीर्घसेवा कदर र पुरस्कार

वार्षिकोत्सव समारोहमा बैंकमा २५ वर्ष सेवा गरेका ३ जना तथा २० वर्ष सेवा गरेका १० जना कर्मचारीलाई दीर्घसेवा कदरस्वरूप पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।

त्यसैगरी, प्रादेशिक तथा भौगोलिक वर्गीकरणका आधारमा उत्कृष्ट उपलब्धि हासिल गर्ने २ शाखालाई समेत पुरस्कृत गरिएको बैंकले जनाएको छ ।

प्राकृतिक विपत्तिको प्रतिकूल अवस्थामा समेत बैंकिङ सेवा सुचारु राखेका त्रिशूली र धुन्चे शाखालाई विशेष सम्मान गरिएको थियो । त्यस्तै, न्यूनतम सुविधामा पनि बैंकको सम्पत्तिको साहसपूर्वक संरक्षण गर्ने कर्मचारी तथा सुरक्षाकर्मीलाई कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बैंकका अध्यक्षले कर्मचारीलाई आगामी दिनमा अझ उच्च मनोबल, जिम्मेवारी तथा इमानदारीका साथ कार्यक्षेत्रमा लाग्न प्रेरित गर्दै कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावलाई धन्यवाद दिएका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले सम्बोधन गर्दै कार्यक्रमका उपस्थित सबैलाई स्वागत गरेका थिए ।

९० वर्षको विरासत, नयाँ पुस्ताको बैंकिङ

९० वर्षको गौरवमय इतिहास बोकेको नेपाल बैंकले परम्परागत बैंकिङ सेवाबाट आधुनिक डिजिटल बैंकिङसम्मको यात्रा तय गरेको छ । देशको आर्थिक तथा वित्तीय विकासमा योगदान पुर्‍याउँदै आएको बैंकले आगामी दिनमा प्रविधिमैत्री सेवा, उत्पादनशील कर्जा, वित्तीय समावेशीकरण र ग्राहककेन्द्रित बैंकिङलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवले बैंकको ऐतिहासिक विरासतलाई स्मरण गराउनुका साथै आधुनिक बैंकिङ प्रणालीमा रूपान्तरणको नयाँ यात्रालाई समेत उजागर गरेको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार