ADVERTISEMENT

ट्रम्पको अभिव्यक्ति : ‘नरक जानुपरे पनि राजनीतिक शत्रुलाई माफ गर्दिनँ’

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजनीतिक विरोधीहरूलाई कहिल्यै माफ गर्न नसक्ने बताएका छन्। ईश्वरको न्यायको सामना गर्नुपरे पनि आफूले शत्रुहरूलाई क्षमा नगर्ने उनको अभिव्यक्तिले अमेरिकी राजनीतिक तथा धार्मिक वृत्तमा चर्चा पाएको छ।

 

आइतबार राति प्रसारित सिबिएस न्युजको चर्चित कार्यक्रम ‘६० मिनेट’ मा पत्रकार रस डुथाटसँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले यस्तो बताएका हुन्।

 

अन्तर्वार्ताका क्रममा डुथाटले ट्रम्पलाई मृत्यु भएपछि स्वर्ग जानका लागि पूर्वएफबिआई निर्देशक जेम्स कोमी, पूर्वसभामुख न्यान्सी पेलोसीलगायत राजनीतिक विरोधीहरूलाई माया र क्षमा गर्नुपर्ने सर्त राखिए के गर्नुहुन्छ भनी प्रश्न गरेका थिए।

 

जवाफमा ट्रम्पले आफूले उनीहरूलाई माफ गर्न नसक्ने स्पष्ट पारे। ‘ईश्वरको न्यायको अगाडि उभिनुपरे पनि म उनीहरूलाई माफ गर्न सक्दिनँ। उनीहरू निकै खराब मानिस हुन्,’ उनले भने।

 

ट्रम्पले आफूविरुद्ध सरकारी संयन्त्रको दुरुपयोग भएको, विभिन्न अभियोग लगाइएको र महाभियोग लगाइएको उल्लेख गर्दै केही राजनीतिक विरोधीप्रति आफूमा गहिरो घृणा रहेको समेत बताए।

 

यसअघि दक्षिणपन्थी राजनीतिक कार्यकर्ता चार्ली किर्कको शोकसभामा पनि ट्रम्पले आफ्ना विरोधीहरूलाई घृणा गर्ने अभिव्यक्ति दिएका थिए।

 

किर्ककी पत्नी एरिका किर्कले क्षमा र प्रेमको सन्देश दिइरहेका बेला ट्रम्पको उक्त भनाइले आलोचना खेपेको थियो।

 

अन्तर्वार्ता सार्वजनिक भएसँगै ट्रम्पको अभिव्यक्तिले राजनीतिक नेतृत्व, क्षमाभाव र धार्मिक मूल्य मान्यताबारे नयाँ बहस सिर्जना गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार