काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडक खण्डको घोप्टेभीरमा गएको सुक्खा पहिरो हटाउन सरकारी निकायले ढिलाइ गर्दा तिहार मनाउन घर हिँडेका यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
आज बिहानै ठूलो सुक्खा पहिरो खसेपछि सडकमा यातायात दुईतर्फी रूपमा अवरुद्ध भएको छ । पहिरो ठूलो भए पनि त्यसलाई हटाउन जम्मा तीनवटा मेसिन तथा उपकरण परिचालन गरिएको छ । पर्याप्त साधनस्रोत परिचालन हुन नसक्दा पहिरो हटाउने काम सुस्त भएको र यात्रुहरूले कैयौँ घण्टा सडकमा बिताउनुपर्ने अवस्था सिर्जना भएको छ ।
चाडपर्वका बेला यात्रुको चाप अत्यधिक हुने भएकाले पहिरो हटाउन पर्याप्त उपकरण र जनशक्ति परिचालन गरी तत्काल सडक खुलाउनुपर्ने भए पनि सरकारी निकायले अपेक्षित तदारुकता नदेखाएको यात्रुहरूले गुनासो गरेका छन् ।

पहिलो चरणमा तीन घण्टाभित्र पहिरो हटाएर सडक सञ्चालन गर्ने तयारी गरिएको भए पनि उक्त समयसीमाभित्र पहिरो हटाउन सरकारी निकाय असफल भएको बताइएको छ ।
तिहार मनाउन घर जाने र घरबाट गन्तव्यतर्फ फर्किने यात्रुहरू सडक अवरुद्ध हुँदा प्रत्यक्ष मारमा परेका छन् । चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित आवागमनको व्यवस्था गर्नुपर्ने सरकारी दायित्व भए पनि सडक खुलाउन पर्याप्त उपकरण परिचालन हुन नसक्नुले व्यवस्थापकीय कमजोरीसमेत उजागर गरेको छ ।




प्रतिक्रिया