काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्वप्रसिद्ध अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको सन् २०२६ का जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन्। टाइमले उनलाई जलवायु परिवर्तनविरुद्धको अभियान र नीतिगत नेतृत्वमा प्रभाव पार्ने व्यक्तित्वका रूपमा ‘नेतृत्वकर्ता’ (Leaders) विधामा समेटेको हो।
टाइमको ‘१०० मोस्ट इन्फ्लुएन्सियल पिपुल इन क्लाइमेट–२०२६’ सूचीमा नेपालको अर्थमन्त्रीका रूपमा परिचित वाग्लेलाई समावेश गरिएको छ। जलवायु परिवर्तनका चुनौतीबीच आर्थिक विकास, जलवायु न्याय र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा सुधारका लागि उनले उठाउँदै आएका मुद्दालाई उनको प्रभावकारी योगदानका रूपमा हेरिएको छ।
वाग्ले विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्ययन, अनुसन्धान तथा नीतिनिर्माणमा संलग्न रहँदै आएका छन्। अर्थशास्त्री तथा विकास नीतिका जानकारका रूपमा लामो समय काम गरेका उनी पछिल्लो समय निर्वाचित राजनीतिज्ञका रूपमा सक्रिय छन्।
विशेषगरी रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि जलवायु परिवर्तनबाट प्रभावित नेपालजस्ता देशले भोग्नुपरेको क्षति र त्यसको क्षतिपूर्तिको सवालमा वाग्लेले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायको मुद्दा उठाउँदै आएका छन्। जलवायु वित्तमा सहज पहुँच, स्रोत परिचालन तथा अन्तर्राष्ट्रिय प्रणालीमा सुधारका लागि उनले गरेको पैरवीलाई टाइमले महत्त्वपूर्ण योगदानका रूपमा उल्लेख गरेको छ।
जलवायु परिवर्तनको असर भोगिरहेका विकासशील देशहरूको आवाज अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने प्रयास र जलवायु संकटलाई आर्थिक तथा नीतिगत दृष्टिकोणबाट सम्बोधन गर्ने पहलले वाग्लेलाई विश्वव्यापी प्रभावशाली व्यक्तित्वको सूचीमा पुर्याएको देखिन्छ।
टाइमको उक्त सूचीमा वाग्लेसँगै बेलायती राजकुमार विलियम, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनलगायत विश्वका चर्चित व्यक्तित्वहरू समेटिएका छन्।
जलवायु परिवर्तनको क्षेत्रमा उल्लेखनीय प्रभाव पारिरहेका विश्वका १०० व्यक्तित्वलाई समेटेर टाइमले प्रत्येक वर्ष सार्वजनिक गर्ने यो सूचीलाई जलवायु अभियान, नेतृत्व, नीति तथा परिवर्तनका प्रयासहरूको अन्तर्राष्ट्रिय मूल्यांकनका रूपमा लिइन्छ।
नेपालका अर्थमन्त्री वाग्ले यस सूचीमा पर्नुले जलवायु न्याय, जलवायु वित्त र विकासशील देशहरूको अधिकारका विषयमा नेपालको आवाजलाई अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान मिलेको छ।




प्रतिक्रिया