ADVERTISEMENT

तिहारमा देउसी–भैलो खेल्न समयको बन्देज हट्यो, २४सै घण्टा खुला

गृह मन्त्रालयको निर्देशन : देशभर चौबिसै घण्टा देउसी–भैलो खेल्न पाइने, मर्यादा र शान्ति सुरक्षामा भने कडाइ

काठमाडौं । तिहारमा देउसी–भैलो खेल्ने समयलाई लिएर जिल्ला प्रशासन कार्यालयहरूले लगाउँदै आएको समयसीमा हटेको छ। गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम चौबिसै घण्टा सञ्चालन गर्न दिन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

यसअघि कतिपय जिल्ला प्रशासन कार्यालयले देउसी–भैलो खेल्ने समय निर्धारण गरेका थिए। गृह मन्त्रालयको पछिल्लो निर्देशनसँगै अब देशभर २४सै घण्टा देउसी–भैलो खेल्न पाइने भएको छ।

मन्त्रालयले सोमबार सचिवस्तरीय निर्णय गर्दै सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो। नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्दै सामाजिक सद्भाव कायम हुने गरी अनुशासित तथा मर्यादित रूपमा देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न दिन मन्त्रालयले आग्रह गरेको छ।

देउसी–भैलो खेल्न समयको बन्देज हटाए पनि त्यसका नाममा मनपरी गर्न भने पाइने छैन। मन्त्रालयले देउसी–भैलो कार्यक्रम पूर्णतः स्वेच्छिक र मर्यादित हुनुपर्ने स्पष्ट पार्दै कसैलाई पनि चन्दा, दक्षिणा वा रकम दिन बाध्य पार्न नहुने निर्देशन दिएको छ।

त्यस्तै, जातजाति, धर्म, भाषा, लिङ्ग तथा विभिन्न समुदायप्रति घृणा र द्वेष फैलाउने अश्लील नृत्य, गीत, संगीत तथा नाराको प्रयोग नगर्न पनि मन्त्रालयले सचेत गराएको छ।

जुवातास, मदिरा र ध्वनि प्रदूषणमा सतर्कता

गृह मन्त्रालयले तिहार मनाउने क्रममा जुवातास नखेल्न, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न तथा मादक पदार्थ वा लागूऔषध सेवन गरेर सवारीसाधन नचलाउन आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गरेको छ।

त्यसैगरी, अत्यधिक ठूलो आवाजमा साउण्ड सिस्टम तथा ध्वनि उपकरण प्रयोग नगर्न र अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन निर्देशन दिएको छ।

सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै वातावरणीय स्वच्छता कायम राख्न र जथाभावी फोहोरमैला नगर्न पनि मन्त्रालयले सबैलाई सचेत गराएको छ।

समस्या आए तत्काल प्रहरीलाई खबर गर्न आग्रह

देउसी–भैलो सञ्चालन वा चाडपर्व मनाउने क्रममा कुनै शङ्कास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा समस्या उत्पन्न भएमा तत्काल प्रहरी नियन्त्रण कक्षको १०० नम्बरमा सम्पर्क गर्न मन्त्रालयले नागरिकलाई आग्रह गरेको छ।

त्यस्तै, आपत्कालीन अवस्थामा राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (NEOC) को १२३४ नम्बरमा समेत सम्पर्क गर्न सकिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

देउसी–भैलोको परम्परालाई सहज बनाउँदै सांस्कृतिक उत्सवको स्वतन्त्रता कायम गर्ने र अर्कोतर्फ शान्ति सुरक्षा, सामाजिक सद्भाव तथा सार्वजनिक मर्यादा जोगाउने उद्देश्यसहित गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार