काठमाडौं ।सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको छ। गत कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरी पठाएका दुवै अध्यादेश हाल राष्ट्रपति कार्यालयमा अध्ययनका क्रममा छन्।
सरकारले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश सिफारिस गरेको हो।
राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले अध्यादेश प्राप्त भएको पुष्टि गरेका छन्। कार्यालयका अनुसार प्राप्त अध्यादेशको अध्ययन भइरहेको छ।
प्रेस काउन्सिलसम्बन्धी अध्यादेशमा पत्रकारिताजन्य काम गरिरहेका सामाजिक सञ्जालका पेजहरूलाई समेत पत्रकार आचारसंहिताको दायरामा ल्याउने प्रावधान समेटिएको बताइएको छ।
संविधानको धारा ११४ अनुसार संसद्का दुवै सदनको अधिवेशन चालु नरहेको अवस्थामा तत्काल आवश्यक परे मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ।
तर, सरकारले अध्यादेश ल्याउनुपर्ने कारण र त्यसमा समेटिएका विस्तृत विषयवस्तुबारे भने सार्वजनिक रूपमा जानकारी गराएको छैन।




प्रतिक्रिया