ADVERTISEMENT

आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन, जलवायु न्यायका लागि विश्वको ध्यानाकर्षण गराउँदै परराष्ट्रमन्त्री खनाल

‘हिमालयन सुनामी’को उदाहरण दिँदै हानि तथा क्षति कोषमा सहज पहुँच र हिमाली क्षेत्रको संरक्षणका लागि अन्तर्राष्ट्रिय साझेदारीमा जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले  टर्कीको आन्ताल्यामा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) अन्तर्गत नेपाल पेभिलियनको उद्घाटन गरेका छन्। सोमबारदेखि सुरु भएको सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका मन्त्री खनालले नेपालको जलवायु सङ्कट, हिमाली क्षेत्रको जोखिम र जलवायु न्यायको मुद्दालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाएका हुन्।

नेपालको जलवायु महत्वाकाङ्क्षा, जैविक विविधता संरक्षणमा हासिल गरेका उपलब्धि तथा समुदायस्तरमा सञ्चालन गरिएका जलवायु अनुकूलनका प्रयासहरूलाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले नेपाल पेभिलियन स्थापना गरिएको हो।

पेभिलियन उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिक प्रणालीले सामना गरिरहेका जलवायुजन्य जोखिम र चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए। उनले हिमाली क्षेत्रमा हिउँ, हिमनदी तथा जमेको पानीको प्रणाली (क्रायोस्फियर) मा देखिँदै गएका परिवर्तनले गम्भीर जोखिम निम्त्याइरहेको उल्लेख गर्दै यसलाई विश्वव्यापी चासोको विषय बनाउनुपर्नेमा जोड दिए।

हालै जलवायु परिवर्तनका कारण भएको विनाशकारी भोटेकोशी विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै मन्त्री खनालले नेपालजस्ता जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका मुलुकहरूले असमानुपातिक रूपमा ठूलो जोखिम र क्षति बेहोर्नुपरिरहेको बताए।

उनले जलवायु न्याय सुनिश्चित गर्न, हानि तथा क्षति कोषमा प्रभावित मुलुकहरूको सहज पहुँच स्थापित गर्न तथा हिमाली क्षेत्रको उत्थानशीलता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय साझेदारी र सहकार्य आवश्यक रहेको स्पष्ट पारे।

हिमाली क्षेत्रको संरक्षण केवल पर्वतीय मुलुकहरूको मात्रै विषय नभएको उल्लेख गर्दै उनले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षा र भविष्यसँग समेत यसको प्रत्यक्ष सम्बन्ध रहेको बताए। हिमालदेखि समुद्रसम्म जलवायु परिवर्तनले पार्ने प्रभाव न्यूनीकरण गर्न विश्वव्यापी सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।

उद्घाटन समारोहमा स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री नीशा मेहता, सङ्घीय संसद् प्रतिनिधिसभाका सदस्य सागर ढकाललगायत विभिन्न क्षेत्रका विशिष्ट प्रतिनिधिहरूले सम्बोधन गरेका थिए।

कोप–३१ को उद्घाटन सत्रमा पनि सहभागी

यसैबीच, परराष्ट्रमन्त्री खनालले आन्ताल्यामा सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को उच्चस्तरीय पूर्ण बैठकको उद्घाटन सत्रमा सहभागिता जनाएका छन्।

नोभेम्बर ९ देखि २० सम्म सञ्चालन हुने सम्मेलनमा मन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन्। सम्मेलनका क्रममा तुर्कीएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुमले कोप–३१ को अध्यक्षता ग्रहण गरेका छन् भने अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जामन्त्री क्रिस बोवेनले सम्मेलनको वार्ता प्रक्रियाको अध्यक्षता ग्रहण गरेका छन्।

परराष्ट्रमन्त्री खनालले सम्मेलनको पूर्ण बैठकलाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ। उनको सम्बोधनमा नेपालको जलवायु जोखिम, जलवायु न्याय, हानि तथा क्षति कोषमा पहुँच र हिमाली क्षेत्रको संरक्षणका विषय थप प्राथमिकताका साथ उठ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार