ADVERTISEMENT

भारतको बनगाउँ बजारमा भीषण आगलागी, ६० पसल नष्ट

धनगढी । भारतको उत्तर प्रदेशस्थित बनगाउँ बजारमा भीषण आगलागी हुँदा करिब ६० वटा पसल जलेर नष्ट भएका छन्। आगलागीबाट ५० देखि ७० करोड रुपैयाँसम्मको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

आइतबार साँझ करिब ७ बजे एक भाँडा पसलमा विद्युत् सर्ट भएर सुरु भएको आगो अन्य पसलमा फैलिएको थियो। पसलहरू एकआपसमा जोडिएर निर्माण गरिएकाले आगोले छोटो समयमै ठूलो क्षेत्र ओगटेको थियो।

आगलागी नियन्त्रणका लागि धनगढी उपमहानगरपालिकाका दुई दमकल घटनास्थल पुगेका थिए। नेपाली तथा भारतीय सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त प्रयासमा राति करिब ११ बजे आगो नियन्त्रणमा आएको थियो।

नेपाली उपभोक्ताको प्रमुख किनमेल गन्तव्य रहेको बनगाउँ बजारमा ठूलो संख्यामा पसल जलेर नष्ट भएपछि स्थानीय व्यवसायी आर्थिक संकटमा परेका छन्। पसलमा रहेका सामान, नगद तथा अन्य व्यापारिक सामग्रीसमेत जलेर नष्ट भएका छन्।

आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन हुन बाँकी रहेको छ भने घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार