ADVERTISEMENT

तिहारको चौथो दिन आज गाईपूजा, गौमाताको आराधना गरिँदै

काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व तिहारअन्तर्गत आज चौथो दिन गाईपूजा गरी मनाइँदै छ। धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार गाईलाई गौमाताका रूपमा सम्मान गर्दै पूजा गर्ने, मीठा परिकार खान दिने र श्रद्धापूर्वक आराधना गर्ने परम्परा छ।

हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा लिइन्छ। गाईको दूध आमाको दूधसरह पोषिलो हुने विश्वासका साथै दूध, दही, घिउ, गोबर र गहुँतको धार्मिक तथा सांस्कृतिक महत्व रहेकाले गाईलाई मातृस्वरूप सम्मान गर्ने चलन रहिआएको छ।

गाईपूजाका अवसरमा गाईलाई स्नान गराउने, फूलमाला लगाइदिने, टीका लगाउने तथा विभिन्न मीठा परिकार खान दिने गरिन्छ। धार्मिक विश्वासअनुसार श्रद्धापूर्वक गाईको पूजा तथा सेवा गर्दा पुण्य प्राप्त हुने मान्यता छ।

नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने परम्परा रहे पनि शास्त्रीय मान्यताअनुसार औँसीको समाप्ति र प्रतिपदाको प्रारम्भसँगै गाईपूजा गर्ने चलन रहेको छ।

वैदिक सनातन हिन्दू परम्परामा धार्मिक कर्मकाण्डका अवसरमा गाईदान गर्ने प्रचलनसमेत छ। पछिल्लो समय गाई उपलब्ध हुन कठिन भएका अवस्थामा गाईदानको सङ्कल्प गरी त्यसबापत रकम दान गर्ने परम्परा पनि विकसित हुँदै गएको छ।

गाईलाई नेपालमा राष्ट्रिय जनावरका रूपमा समेत सम्मान गरिएको छ। धार्मिक मान्यताअनुसार साउन शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि वैतरणी नदी पार गर्न गाईले सहयोग गर्ने विश्वास गरिन्छ।

यसरी गाईपूजा धार्मिक आस्था, प्रकृतिप्रतिको सम्मान र नेपाली सांस्कृतिक परम्परासँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार