काठमाडौं । नेकपा एमालेले आजबाट लगातार तीन वटा बैठक बोलाएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार बिहान ९ बजे निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक र दिउँसो १ बजे सचिवालय बैठक बस्नेछ।
दुवै बैठक पार्टी मुख्यालय च्यासलमा हुनेछन्। कार्यदलले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिएर सचिवालय बैठकमा पेस गर्ने तयारी गरेको छ।
यसअघि कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन बनेपछि विवाद देखिएको थियो। त्यसपछि बादल, विष्णु पौडेल र महासचिव पोखरेललाई दुवै प्रतिवेदन एकीकृत गरी साझा प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो।
पोखरेलको प्रतिवेदनमा चुनावी हारको जिम्मेवारी लिँदै अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने सुझाव समेटिएको थियो भने थापाको प्रतिवेदनमा अध्यक्ष ओलीको बचाउ गरिएको थियो।
सचिवालय बैठकमा कार्यदलको प्रतिवेदनसँगै केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे छलफल हुनेछ। एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्ने तय भएको छ।

प्रतिक्रिया