सरकारले विद्युत् माग बढाउने होइन, घटाउने नीति लियो : कुलमान घिसिङ


काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युत् तथा ऊर्जाको माग बढाउनेभन्दा माग संकुचन गर्ने नीति लिएको आरोप लगाउनुभएको छ।

बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले विद्युत् उपभोगमा भ्याट लगाउनु तथा विद्युतीय सवारीसाधन (ईभी) मा कर बढाउनु सरकारको ऊर्जा नीतिसँग मेल नखाने बताउनुभयो।

एलपीजी ग्यासको आपूर्ति संकटका बेला विद्युतीय चुल्हो र अन्य विद्युतीय उपकरणको प्रयोग बढाउनुपर्नेमा सरकारले त्यसअनुकूल नीति नलिएको उहाँको भनाइ थियो। उहाँले ईभी प्रवर्द्धन तथा इन्डक्सन कुकिङलाई प्रोत्साहन गर्नुपर्नेमा कर वृद्धि गरिएको भन्दै प्रश्न उठाउनुभयो।

घिसिङले भ्याट र विद्युत् महसुलसम्बन्धी नीतिका कारण नेपाल विद्युत् प्राधिकरणको वित्तीय अवस्थामा थप दबाब पर्न सक्ने चेतावनी दिनुभयो। प्राधिकरण आगामी वर्ष घाटामा जान सक्ने जोखिम रहेको उहाँको दाबी छ।

बाढी तथा प्राकृतिक विपत्तिका कारण त्रिशूली–३ ए, त्रिशूली र देवीघाट आयोजनाको आम्दानीमा समेत असर परेको भन्दै उहाँले प्रभावित जलविद्युत् आयोजनाका लागि सरकारले विशेष प्याकेज ल्याउनुपर्ने माग गर्नुभयो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार