काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ४.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको ५२१औँ बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले प्रस्ताव गरेको लाभांशमा ३.८० प्रतिशत बोनस शेयर र ०.२० प्रतिशत नगद लाभांश रहेको छ। बैंकको चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशतले हुन आउने ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बराबरको बोनस शेयर वितरण गरिनेछ।
त्यस्तै, शेयर तथा कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांशबापत ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरिएको छ। बोनस शेयर र नगद लाभांशसहित बैंकले कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।
सिटिजन्स बैंकले विगत २० वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले आर्थिक वर्ष २०६५/६६ देखि शेयरधनीलाई निरन्तर लाभांश वितरण गर्दै आएको जनाएको छ। बैंकको २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ भने प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औसत लाभांश दर ९.२४ प्रतिशत रहेको छ।
बैंकले डिजिटल बैंकिङ तथा आधुनिक वित्तीय सेवामा समेत विस्तार गर्दै आएको छ। हाल बैंकले देशभर ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ। बैंकका अनुसार २० लाख ६४ हजारभन्दा बढी ग्राहकले बैंकिङ सेवा उपयोग गरिरहेका छन्।

प्रतिक्रिया