श्रीलङ्काको अर्थतन्त्र दोस्रो त्रैमासिकमा ४.२ प्रतिशतले बढ्यो


काठमाडौँ । श्रीलङ्काको अर्थतन्त्र सन् २०२६ को दोस्रो त्रैमासिकमा ४.२ प्रतिशतले वृद्धि भएको छ। श्रीलङ्काको जनगणना तथा तथ्यांक विभागका अनुसार औद्योगिक क्षेत्रमा भएको बलियो विस्तारले आर्थिक वृद्धिमा मुख्य योगदान गरेको हो।

दोस्रो त्रैमासिकमा उद्योग क्षेत्र ७.३ प्रतिशतले बढेको छ। यसअन्तर्गत निर्माण गतिविधि १३.९ प्रतिशत र खानी तथा उत्खनन क्षेत्र १७.४ प्रतिशतले विस्तार भएको छ। उत्पादनमूलक उद्योग भने ३.२ प्रतिशतले बढेको छ।

सेवा क्षेत्र २.७ प्रतिशतले वृद्धि हुँदा कृषि क्षेत्र २.३ प्रतिशतले संकुचित भएको छ। कृषि क्षेत्रमा धान, उखु, सुर्ती, चिया, रबर तथा माछापालनसम्बन्धी गतिविधिमा आएको कमीले प्रभाव पारेको विभागले जनाएको छ।

चालू मूल्यका आधारमा दोस्रो त्रैमासिकमा श्रीलङ्काको जीडीपी ११.३ प्रतिशतले बढेर ८.२५ ट्रिलियन श्रीलङ्काली रुपैयाँ पुगेको छ। कुल जीडीपीमा सेवा क्षेत्रको हिस्सा ५२.७ प्रतिशत, उद्योगको २५.९ प्रतिशत र कृषिको ८.४ प्रतिशत रहेको छ।

मध्यपूर्वको बढ्दो तनाव, कच्चा तेलको आपूर्तिसम्बन्धी चिन्ता र पर्यटन क्षेत्रमा देखिएको कमजोरीले अर्थतन्त्रमा दबाब सिर्जना गरे पनि आयात बढ्दा उद्योगका लागि आवश्यक कच्चा पदार्थ र मेसिनरीको उपलब्धता सहज भएको विभागले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार