काठमाडौँ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको माग अपेक्षाअनुसार नबढेपछि घट्दै आएको निक्षेपको ब्याजदर असोजमा स्थिर हुन थालेको छ। निक्षेपको ब्याजदर थप घटाउँदा बचतकर्ता निरुत्साहित हुन सक्ने देखिएपछि अधिकांश वाणिज्य बैंकले भदौकै दरलाई निरन्तरता दिएका छन्।
२० वाणिज्य बैंकले सार्वजनिक गरेको असोज महिनाको ब्याजदरअनुसार व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदरको औसत ४.०८९५ प्रतिशत कायम भएको छ। भदौमा यस्तो औसत ४.१३६ प्रतिशत थियो। त्यस्तै, संस्थागत निक्षेपको अधिकतम ब्याजदरको औसत ३.०६६५ प्रतिशतमा झरेको छ।
असोजमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर सबैभन्दा धेरै एभरेस्ट बैंकले घटाएको छ। बैंकले ४.०५ प्रतिशतबाट घटाएर ३.५० प्रतिशत कायम गरेको छ। नबिल बैंकले पनि व्यक्तिगत मुद्दतीको दर ४.५५ प्रतिशतबाट ४.२५ प्रतिशतमा झारेको छ।
यसैबीच, सानिमा बैंकले भने संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ३.३० प्रतिशतबाट बढाएर ३.५१ प्रतिशत पुर्याएको छ।
असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर प्रभु बैंकले दिने भएको छ। माछापुच्छ्रे, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी र सानिमा बैंकले ४.५० प्रतिशत ब्याजदर कायम गरेका छन्।
बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम रहेकाले निक्षेप आकर्षित गर्न ब्याजदर बढाउने प्रतिस्पर्धा छैन। तर ब्याजदर अत्यधिक घटाउँदा निक्षेपकर्ता निरुत्साहित हुन सक्ने भएकाले बैंकहरूले थप कटौतीको सट्टा अधिकांश दर स्थिर राख्न थालेका छन्। कर्जाको माग बढेर अतिरिक्त तरलता घटेमा भने निक्षेपको ब्याजदर पुनः बढ्न सक्ने अवस्था बन्न सक्छ।


प्रतिक्रिया