विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न कांग्रेसको माग


काठमाडौं । नेपाली कांग्रेसले विपद् व्यवस्थापन, राहत, उद्धार तथा पुनःस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेको छ।

कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मंगलबार सभामुख डोलप्रसाद अर्याललाई भेटेर तत्काल समिति गठनका लागि ध्यानाकर्षण गराउनुभएको हो। उहाँले विपद् आएको १७–१८ दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाइएको समिति गठनको विषय कार्यान्वयनमा नआएको बताउनुभयो।

आङ्देम्बेले सरकारका कामलाई व्यवस्थित, जिम्मेवार र प्रभावकारी बनाउन संसदीय निगरानी आवश्यक रहेको बताउँदै विपद्बाट प्रभावित बालबालिका, सुत्केरी महिला तथा अन्य पीडितको अवस्था, राहत र पुनःस्थापनाको अनुगमन गर्न समिति आवश्यक रहेको उल्लेख गर्नुभयो।

भेटमा उहाँले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम पनि तत्काल सञ्चालन गर्न सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो। सभामुख अर्याल यस विषयमा सकारात्मक रहेको र कार्यक्रम चाँडै सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिइएको कांग्रेसले जनाएको छ।

यसैबीच, आङ्देम्बेले कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिकाबारे पनि सभामुखलाई जानकारी गराउनुभएको छ। कांग्रेसको वडा अधिवेशन ३ र ४ गते, प्रदेश तथा क्षेत्रीय अधिवेशन १० गते तथा केन्द्रीय महाधिवेशन १६ देखि १९ गतेसम्म हुने उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार