काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले सर्वोच्च अदालतमा पार्टीको आधिकारिकतासम्बन्धी विषय विचाराधीन रहेकाले अदालतको फैसला नआउँदै एकतर्फी रूपमा महाधिवेशन अघि बढाउनु उचित नभएको बताएका छन्।
मंगलबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै कोइरालाले पार्टीको वैधानिकता, लोकतान्त्रिक संस्कार र संगठनात्मक एकता संकटमा परेको बताए। उनले विवाद समाधानका लागि अदालतको फैसला कुर्नुका साथै वार्ता र संवादमार्फत सहमति खोज्नुपर्नेमा जोड दिए।
पद बाँडफाँडबाट मात्रै पार्टीभित्रको समस्या समाधान नहुने भन्दै उनले नेता–कार्यकर्ताको आत्मसम्मानलाई पदको सौदाबाजी बनाउन नहुने बताए।
कोइरालाले असोज ३ गतेदेखि सुरु गर्ने भनिएको अधिवेशनमा सहभागी नहुन नेता–कार्यकर्तालाई आग्रह गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि हुने वडा अधिवेशनलगायतका कार्यक्रममा सहभागी हुन आह्वान गरे।
उनले मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशन सफल बनाउन समेत कार्यकर्तालाई आग्रह गरेका छन्।

प्रतिक्रिया