बलात्कार र साइबर हिंसा अन्त्य गर्न संसद्मा संकल्प प्रस्ताव


काठमाडौं । बलात्कार, यौन हिंसा र साइबर बुलिङ अन्त्य गर्न संसद्मा संकल्प प्रस्ताव पेश भएको छ।

नेकपा एमालेकी सचेतक निता घतानी प्रस्तावक रहेको प्रस्तावमा सांसदहरू श्रद्धा कुँवर क्षेत्री, अम्बिकादेवी संग्रौला, रेनुका काउचा, खुश्बु ओली, बलावती शर्मा र पार्वती विक समर्थक रहेका छन्।

प्रस्तावमा महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा, हत्या तथा पछिल्लो समय बढ्दो साइबर हिंसा गम्भीर सामाजिक चुनौती बनेको उल्लेख गरिएको छ। संविधानले सम्मानपूर्वक बाँच्न पाउने हक, समानताको हक, महिलाको हक र बालबालिकाको हक सुनिश्चित गरे पनि व्यवहारमा यस्ता घटना निरन्तर भइरहेको प्रस्तावमा जनाइएको छ।

विशेषगरी बालिका तथा किशोरीमाथि हुने यौन अपराधले मानसिक, शारीरिक तथा भविष्यमा दीर्घकालीन असर पारिरहेको उल्लेख गर्दै डिजिटल प्रविधिको विस्तारसँगै साइबर बुलिङ र चरित्रहत्या जस्ता अपराधले महिलाको सम्मान तथा गोपनीयतामा गम्भीर असर पुर्‍याएको प्रस्तावमा भनिएको छ।

कानुनको प्रभावकारी कार्यान्वयन, शीघ्र न्याय, पीडितको सुरक्षा तथा पुनर्स्थापना र साइबर हिंसा नियन्त्रणका लागि राज्यका संयन्त्रलाई थप जिम्मेवार बनाउन आवश्यक रहेको भन्दै संकल्प प्रस्ताव पेश गरिएको हो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार