ब्रिक्स सम्मेलनमा नयाँ विश्व व्यवस्थाको बहस, भारत–चीन सम्बन्धमा सुधारको संकेत


काठमाडौं । भारतको नयाँ दिल्लीमा सम्पन्न ब्रिक्स सम्मेलनले नयाँ विश्व व्यवस्था निर्माण, पश्चिमी प्रभावको विकल्प र सदस्य राष्ट्रबीचको सहकार्यबारे बहसलाई प्राथमिकता दिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूले ‘नियम मान्ने’ भन्दा ‘नियम बनाउने’ भूमिकामा अघि बढ्नुपर्ने बताएका छन्। सम्मेलनमा चीन, रुस, इरान, यूएई र दक्षिण अफ्रिकासहितका प्रमुख नेताहरू सहभागी थिए।

सम्मेलनले पश्चिम एसियाको युद्ध, व्यापारिक तनाव र बढ्दो ट्यारिफप्रति चिन्ता व्यक्त गर्दै संयुक्त घोषणापत्र जारी गरे पनि विवादित विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न भने सदस्यहरू हिचकिचाएका छन्। घोषणापत्रमा पश्चिम एसियाको द्वन्द्वबारे संयम अपनाउन अपिल गरिए पनि कुनै देशलाई प्रत्यक्ष रूपमा दोषी ठहराइएको छैन। युक्रेन युद्धको भने उल्लेख गरिएको छैन।

यसैबीच, चीनका राष्ट्रपति सी जिनपिङको सात वर्षपछि भएको दिल्ली भ्रमणलाई भारत–चीन सम्बन्ध सुधारतर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ। सी र मोदीबीच व्यापार, यातायात सम्पर्क तथा व्यापारिक अवरोध हटाउने विषयमा सहमति भएको भारतीय पक्षले जनाएको छ।

विश्लेषकहरूका अनुसार, ब्रिक्सले अमेरिका तथा पश्चिमी प्रभावभन्दा बाहिर रहेका देशहरूबीच संवाद र रणनीतिक सहकार्यको मञ्च निर्माण गर्न सफल भए पनि नयाँ विश्व व्यवस्थाको स्वरूप र त्यसलाई कार्यान्वयन गर्ने विषयमा सदस्य राष्ट्रबीच अझै गहिरो मतभेद कायमै छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार