काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुन नसकेको बताएकी छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै झाँक्रीले विपद्का बेला सरकारले दलगत दृष्टिकोण त्यागेर प्रदेश र स्थानीय तहसँग समन्वय गर्नुपर्ने बताइन्। रसुवाको भोटेकोशी बाढीपछि सरकार सामाजिक सञ्जालमा मात्र सीमित नभई फिल्डमै देखिने गरी काम गर्नुपर्ने उनको भनाइ छ।
उनले खोज तथा उद्धारपछि अब राहत र पुनर्निर्माणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताइन्। बेपत्ता व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण गरी आफन्तलाई शव बुझाउने व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उनले भनिन्, “सरकारका लागि मृत्यु संख्या होला, तर परिवारका लागि प्रियजन हुन्।”
स्थानीय तह र प्रदेश सरकार विपद्को समयमा फिल्डमा सक्रिय भए पनि संघीय सरकारले आवश्यक समन्वय गर्न नसकेको झाँक्रीको आरोप छ। “विपद्मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय गर्नुपर्छ,” उनले भनिन्।
यसैबीच, झाँक्रीले गत वर्ष भदौ २४ गते भएको आगजनी र विध्वंसमा संलग्नलाई तत्काल कारबाही गर्न पनि सरकारसँग माग गरिन्। जेनजी आन्दोलनलाई हाइज्याक गरी देशमा विध्वंस मच्चाउनेमाथि सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया