भोटेकोशी बाढीले चाडपर्वका अर्बौंका सामान बगायो


काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले चाडपर्वका लागि चीनबाट आयात गरिएका अर्बौं रुपैयाँ बराबरका सामान तथा सयौँ कन्टेनर बगाउँदा नेपाली व्यवसायी समस्यामा परेका छन्।

बाढीले नेपाल–चीन जोड्ने रसुवागढी नाकामा ठूलो क्षति पुर्‍याउनुका साथै भन्सार क्षेत्रमा रहेका रेडिमेड कपडा, विद्युतीय सामग्री, कच्चापदार्थ तथा विद्युतीय सवारीसाधनसमेत बगाएको व्यवसायीले बताएका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठका अनुसार चाडपर्व लक्षित करिब २५० कन्टेनर सामान बाढीमा बगेका छन्। तीमध्ये ७६ कन्टेनर भन्सार प्रक्रिया पूरा गरी काठमाडौँ ल्याउने तयारीमा थिए। बाढीका कारण सामानसँगै ठूलो सङ्ख्यामा मालवाहक तथा यात्रुवाहक सवारीसाधनमा समेत क्षति पुगेको छ।

काठमाडौँको न्युरोड, महाबौद्ध, ओटु, नेपाः कम्प्लेक्स र रञ्जना कम्प्लेक्सलगायतका क्षेत्रमा थोक व्यापार गर्ने व्यवसायीले दसैँ, तिहार र अन्य चाडपर्वका लागि ल्याएका लाखौँदेखि करोडौँ रुपैयाँ बराबरका सामान गुमाएका छन्।

व्यवसायीहरूका अनुसार तीज, दसैँ, तिहार र छठलाई लक्षित गरी असार–साउनमै चीनबाट सामान आयात गरिन्छ। तातोपानी नाका बन्द रहेकाले पछिल्लो समय अधिकांश व्यवसायी रसुवागढी–केरुङ नाकामा निर्भर थिए। बाढीले यही समयमा आयात गरिएका सामान बगाएपछि चाडपर्वको व्यापार प्रभावित हुने अवस्था आएको व्यवसायीको भनाइ छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार बाढीबाट एक हजारभन्दा बढी मालवाहक तथा यात्रुवाहक सवारीसाधनमा क्षति पुगेको छ। भन्सार क्षेत्रमा रहेका विद्युतीय सवारीसाधन, सामान लिन पुगेका सवारी तथा गोसाइँकुण्ड जाने यात्रुवाहक सवारीसाधनसमेत गरी करिब एक हजार तीन सय सवारीमा क्षति पुगेको महासङ्घले जनाएको छ।

बाढीबाट भएको ठूलो क्षतिका कारण व्यवसायीले राहत तथा क्षतिपूर्तिका लागि सरकारसँग पहल गर्न माग गरेका छन्।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार