ग्यासबारे विवादास्पद अभिव्यक्ति दिने उद्योगमन्त्री यादवको राजीनामा


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिए।

बुधबार संसदीय समितिको बैठकमा मन्त्री यादवले ग्यास अभाव उद्योगीका कारण भएको भन्दै उद्योगीलाई ‘पाता कस्नुपर्ने’ विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनले नेपालमा सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गरी दुईवटा उद्योग मात्रै भए पुग्ने धारणा समेत राखेकी थिइन्।

उनको अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए। काठमाडौं उपत्यकामा लामो समयदेखि ग्यासको अभाव हुँदा उपभोक्ता घण्टौं लाइन बस्न बाध्य छन् भने बजारमा तोकिएको मूल्यभन्दा महँगोमा ग्यास बिक्री भइरहेको गुनासो छ।

मन्त्री यादवको राजीनामा ग्यास अभाव व्यवस्थापनमा सरकारमाथि दबाब बढिरहेका बेला आएको हो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार