काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटनामा संलग्न केही व्यक्तिलाई बचाउन राज्यको स्रोत, साधन र शक्तिको दुरुपयोग भइरहेको आरोप लगाएका छन्।
भक्तपुरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै बस्नेतले विगतमा अपराधमा संलग्न व्यक्तिविरुद्ध जाहेरी तथा पक्राउ गरिएका व्यक्तिमाथि समेत कारबाही नभएको भन्दै प्रहरी प्रशासनमाथि प्रश्न उठाए। दोषीमाथि कारबाही नहुनुले प्रहरीसमेत घटनामा संलग्न रहेको आशंका पैदा भएको उनको दाबी छ।
बस्नेतले जेनजी आन्दोलनका क्रममा प्रहरी चौकी, अदालत, सवारीसाधन तथा हतियारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए। कार्की आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै उनले सिंहदरबार, संसद् र सर्वोच्च अदालतलगायतका संरचनामा भएको आगजनी तथा हिंसाबारे गम्भीर अनुसन्धान आवश्यक रहेको बताए।
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी १३ दिनसम्म राखिएको प्रसंग उठाउँदै त्यसबाट के अभियोग स्थापित भयो भन्ने प्रश्न गरे। साथै प्रधानमन्त्री बालेन्द्र साह, गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि घटनाको गम्भीर छानबिन हुनुपर्ने बताए।
बस्नेतले वर्तमान सरकारलाई ‘असक्षम, अयोग्य र कठपुतली सरकार’को संज्ञा दिँदै विदेशी शक्तिको प्रभावमा सरकार चलेको आरोप लगाए। बाढीपहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा सरकार असफल भएको आरोप लगाउँदै उनले सुरक्षा निकायका नेतृत्वमाथि समेत प्रश्न उठाए। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा उद्धारका लागि पर्याप्त हेलिकप्टर प्रयोग हुन नसकेको तथा पीडितले रकम तिर्न खोज्दासमेत उद्धारको अनुमति नदिइएको उनको दाबी छ।

प्रतिक्रिया