नेपाल भ्रमणमा रहेका कोरियाली विदेशमन्त्री चो ह्युन र परराष्ट्रमन्त्री शिशिर खनालबीच आज भएको भेटवार्तामा भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछिको खोज, उद्धार तथा राहत कार्य र बेपत्ता कोरियाली नागरिकको खोजीबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा कोरियाली विपद् राहत तथा र्यापिड रेस्पोन्स टोली पठाएकोमा दक्षिण कोरिया सरकारलाई धन्यवाद दिँदै पुनर्निर्माणका लागि निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।
कोरियाली विदेशमन्त्री चोले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न कोरिया सरकार पूर्ण रूपमा तयार रहेको बताउनुभयो। जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको क्षतिप्रति विश्व समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्षमा आवाज उठाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने आर्थिक सहयोगका लागि समेत कोरियाले पहल गर्ने विदेशमन्त्री चोले बताउनुभएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया