बाढी प्रभावित नेपाललाई एडीबीको ५० लाख डलर आपत्कालीन अनुदान


काठमाडौं । भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा गेग्रानसहितको पहिरोबाट प्रभावित क्षेत्रको उद्धार, राहत र प्रारम्भिक पुनःस्थापनाका लागि एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ५० लाख अमेरिकी डलर आपत्कालीन अनुदान उपलब्ध गराएको छ।

एडीबीको एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ड (एपीडीआरएफ) अन्तर्गतको अनुदान सम्झौतामा शुक्रबार अर्थ मन्त्रालयका सहसचिव अमृत लाम्साल र नेपालका लागि एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउड कोच्वाले हस्ताक्षर गरेका छन्।

‘२०२६ भोटेकोशी बाढी विपद्को आपत्कालीन प्रतिकार्य परियोजना’ अन्तर्गत उपलब्ध गराइएको उक्त रकमबाट खोज तथा उद्धार उपकरण, औषधि, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय तथा सरसफाइ सामग्रीको व्यवस्थापन गरिनेछ। साथै बाढीले थुपारेको गेग्रान हटाउने र क्षतिग्रस्त संरचनालाई आपत्कालीन रूपमा स्थिर बनाउने काममा समेत रकम प्रयोग हुनेछ।

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र क्षतिको मूल्यांकन जारी छ।

यसैगरी, एडीबीले विपद्पछिको क्षति तथा आवश्यकताको विस्तृत मूल्यांकनका लागि थप १ लाख ५० हजार अमेरिकी डलरसम्मको प्राविधिक सहायता उपलब्ध गराउने प्रक्रिया अघि बढाएको जनाएको छ। मूल्यांकनका आधारमा पुनःस्थापना तथा पुनर्निर्माणका प्राथमिकता निर्धारण र आवश्यक लगानी पहिचान गर्न सहयोग पुग्ने एडीबीले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार