काठमाडौं । भाटभटेनी समूहसँग सम्बन्धित तीन लगानी कम्पनीले थप लगानी विस्तारका लागि कुल १० अर्ब ६४ करोड रुपैयाँ बराबरको बैंक कर्जाको रेटिङ गराएका छन्। इक्रा नेपालले भाटभटेनी इन्भेष्टमेन्ट, श्रीनिवास होल्डिङ र श्रीवृद्धि होल्डिङको कर्जा सुविधाको मूल्यांकन गर्दै रेटिङ दिएको हो।
भाटभटेनी इन्भेष्टमेन्टले ६ अर्ब ४ करोड, श्रीनिवास होल्डिङले २ अर्ब १० करोड र श्रीवृद्धि होल्डिङले २ अर्ब ५० करोड रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ पाएका छन्।
इक्राका अनुसार तीनवटै कम्पनीको लगानी ठूलो मात्रामा बैंक तथा प्रवर्द्धक कर्जामा आधारित छ। भाटभटेनी इन्भेष्टमेन्टको गियरिङ अनुपात ४.३ गुणा, श्रीनिवास होल्डिङको ५.१ गुणा र श्रीवृद्धि होल्डिङको २.२ गुणा रहेको छ।
श्रीनिवासको लगानी मुख्यतः सूचीकृत सेयरमा केन्द्रित छ भने श्रीवृद्धिको लगानीमा बैंकिङ क्षेत्रको हिस्सा उच्च छ। भाटभटेनी इन्भेष्टमेन्टले जलविद्युत्, सौर्य ऊर्जा, कृषि, अस्पताल, होटल, रियल स्टेट तथा सेयर बजारमा लगानी विस्तार गरेको छ।
उच्च ऋणभार, लगानीको क्षेत्रगत एकाग्रता र सेयर बजारको उतारचढावलाई इक्राले तीनवटै कम्पनीका प्रमुख जोखिमका रूपमा औंल्याएको छ। नयाँ कम्पनी भएकाले औपचारिक लगानी नीति, जोखिम व्यवस्थापन र समर्पित लगानी टोली पर्याप्त विकास नभएको पनि इक्राको निष्कर्ष छ।
