काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र साहसँग भेट गरी विपद् व्यवस्थापन, उद्धार, सडक पुनःस्थापना र पूर्वाधार सुरक्षाका विषयमा सुझाव दिएका छन्।
बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा घिसिङले भोटेकोशी विपत्तिबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका कामलाई एकीकृत रूपमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराए। सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि आवश्यक हेभी उपकरण हेलिकोप्टरमार्फत समेत तत्काल परिचालन गर्नुपर्ने उनले बताए।
घिसिङले स्याफ्रुबेँसीलगायत अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन तथा रणनीतिक स्थानमा बेलिब्रिज निर्माण गर्न सुझाव दिए। बाढीबाट प्रभावित करिब २३५ मेगावाट क्षमताका जलविद्युत आयोजनालाई शीघ्र सञ्चालनमा ल्याउन विशेष प्याकेज ल्याउनुपर्ने र बीमा भुक्तानी प्रक्रियालाई सहज बनाउनुपर्ने उनको भनाइ छ।
उनले विपद्पछिको शव व्यवस्थापनमा भएको ढिलाइप्रति स्थानीयमा असन्तुष्टि रहेको भन्दै सरकार गम्भीर बन्नुपर्ने बताए। साथै होल्डिङ सेन्टरमा रहेका बालबालिका, महिला तथा ज्येष्ठ नागरिकको स्वास्थ्य र सामाजिक सुरक्षामा विशेष ध्यान दिनुपर्ने सुझाव दिए।
प्रधानमन्त्री साहले घिसिङका सुझावलाई सकारात्मक रूपमा लिँदै विज्ञको सल्लाहअनुसार विपद् व्यवस्थापन र पूर्वाधार पुनःनिर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई काठमाडौं ल्याएर उचित व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको घिसिङले जानकारी दिए।
