काठमाडौं । । रोशी गाउँपालिकामा करार कर्मचारीको सेवा नवीकरणसम्बन्धी विवाद चर्किँदा नियमित प्रशासनिक कामकाज प्रभावित भएको छ। विवादकै बीच प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीले आफ्नै कार्यकक्षमा तालाबन्दी गरेपछि कर्मचारीहरू हाजिरी गर्नसमेत नपाएको गाउँपालिका स्रोतले जनाएको छ।
गाउँ कार्यपालिकाले २०८३ साउन २१ गते पालिका, वडा कार्यालय तथा स्वास्थ्य चौकीमा स्वीकृत दरबन्दीमा कार्यरत करार कर्मचारीको आर्थिक वर्ष २०८३/०८४ का लागि सेवा नवीकरण गर्ने निर्णय गरेको थियो। तर उक्त निर्णय कार्यान्वयन नगरी प्रशासन, प्राविधिक, कम्प्युटर अपरेटर तथा स्वास्थ्य सेवाका चौथो र पाँचौँ तहमा कार्यरत २६ जना कर्मचारीको करार नवीकरण नगर्ने पत्र कर्मचारीलाई बुझाइएको स्रोतको दाबी छ।
केही कर्मचारीको मात्र करार नवीकरण नगर्ने निर्णयपछि असन्तुष्टि बढेको थियो। राजनीतिक दबाबपछि पुनः कार्यपालिका बैठक बोलाएर निर्णय सच्याइएको र प्रशासन सेवाका केही कर्मचारीलाई कम्प्युटर अपरेटर पदमा मिलान गरी करारलाई निरन्तरता दिने प्रयास भएको स्रोतले जनाएको छ।
यसरी एउटै आर्थिक वर्षमा करार कर्मचारीबारे पटक–पटक निर्णय फेरबदल भएपछि गाउँपालिकाको कर्मचारी व्यवस्थापनमा राजनीतिक हस्तक्षेप तथा कानुनी मापदण्डको पालना भए–नभएको विषयमा प्रश्न उठेको छ। कर्मचारीहरूले भने स्पष्ट आधार र मापदण्डबिना आफूहरूलाई हटाउन खोजिएको भन्दै समान व्यवहार र पारदर्शी प्रक्रिया अपनाउन माग गरेका छन्।
यसैबीच प्रमुख प्रशासकीय अधिकृत नेगी, सहायक लेखा अधिकृत विक्रम बस्नेत र लेखापरीक्षण अधिकृत चन्द्रवती श्रेष्ठ कार्यालयमा उपस्थित नरहेको गाउँपालिका स्रोतले जनाएको छ। कार्यालय प्रमुख तथा सम्बन्धित अधिकारीहरू अनुपस्थित हुँदा कर्मचारीको हाजिरी, करार नवीकरण र निर्णय कार्यान्वयन थप अन्योलमा परेको छ।
घटनाबारे प्रतिक्रिया लिन प्रमुख प्रशासकीय अधिकृत नेगीसँग सम्पर्क गर्ने प्रयास गरिए पनि उनी सम्पर्कमा नआएको जनाइएको छ।

