छोछेन खोलामा बाढीको पानी घट्यो, हिमनदी भत्किने जोखिम कायमै


काठमाडौँ । अगस्ट २६ मा नेपालको छोछेन खोला क्षेत्रमा गएको विनाशकारी पहिरो तथा बाढीपछि बनेको प्रभाव क्षेत्रमा जम्मा भएको पानी अधिकांश बाहिरिए पनि वरपरका हिमनदी भत्किने जोखिम कायमै रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।

चिनियाँ सरकारी प्रसारक सीसीटीभीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सका अनुसार, सेप्टेम्बर १ बिहान खिचिएको ड्रोन तस्बिरमा प्रभाव क्षेत्रमा जम्मा भएको पानी ठूलो मात्रामा निकास भइसकेको र तलतर्फको नदीको बहाव सामान्य अवस्थामा फर्किएको देखिएको छ।

तर, आसपासका हिमनदी वा पहिरोका थुप्रा भत्किएमा ठूलो मात्रामा मलबे नदीमा मिसिएर पुनः प्राकृतिक बाँध वा हिमताल बन्न सक्ने जोखिम रहेको चिनियाँ पक्षले जनाएको छ।

अगस्ट ३१ को स्याटेलाइट तथा राडार विश्लेषणमा प्रभाव क्षेत्रमा करिब ८३ हजार वर्गमिटर पानी जमेको र करिब ६ लाख ५० हजार घनमिटर पानी रहेको अनुमान गरिएको थियो। पछिल्लो ड्रोन निरीक्षणले भने पानीको मात्रा उल्लेख्य रूपमा घटेको देखाएको छ।

चीनतर्फ ०.१ वर्गकिलोमिटरभन्दा ठूला १४ वटा मोरेनले बाँधिएका हिमताल पहिचान गरिएका छन्। तीमध्ये १० वटालाई उच्च जोखिम र चारवटालाई मध्यमदेखि न्यून जोखिमका रूपमा वर्गीकरण गरिएको छ। पछिल्लो एक महिनामा ती हिमतालको पानीको सतहमा भने उल्लेखनीय परिवर्तन नदेखिएको मन्त्रालयले जनाएको छ।

जोखिमको निरन्तर निगरानीका लागि चीनले अगस्ट ३१ मा १४ सदस्यीय प्राविधिक टोली परिचालन गरेको छ। केरुङ बन्दरगाहमा सोही दिन बिहान नदीको बहाव प्रतिसेकेन्ड १२५ घनमिटर मापन गरिएको थियो।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार