काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुगेको छ भने ४ हजार ८ सय ५८ जना अझै बेपत्ता छन्।
नेपाल प्रहरीले बुधबार बिहान ५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बाढीपछि विभिन्न स्थानबाट १ हजार १ सय २७ जनाको शव फेला परेको छ। तीमध्ये १ हजार १ सय १३ शवको लासजाँच मुचुल्का सम्पन्न भएको र ९५ शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।
फेला परेका शवमध्ये रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा ९ जना रहेका छन्।
प्रभावित क्षेत्रबाट हालसम्म ६ हजार ५ सय ४१ जनाको उद्धार गरिएको छ। खोजी, उद्धार, राहत वितरण तथा शव व्यवस्थापनका लागि ७ हजार ९ सय १२ प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार ३ हजार ९१६ जना बेपत्ता र १ हजार ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको थियो। पछिल्लो प्रहरी तथ्यांकसँग संख्या फरक देखिएपछि सरकारी निकायबीचको तथ्यांकमा अझै एकरूपता आउन बाँकी रहेको देखिएको छ।
यसैबीच, पहिचान नखुलेका ९११ शवको विवरण प्रहरीले सार्वजनिक गरेको छ। बाढीबाट सडक, पुल, बस्ती, सीमा नाका तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।

