काठमाडौं ।
स्थानीय तहमा प्रशासनलाई थप जिम्मेवार, जवाफदेही र नतिजामुखी बनाउने उद्देश्यसहित बुढानीलकण्ठ नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत र विभिन्न महाशाखा प्रमुखबीच कार्यसम्पादन सम्झौता गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको उपस्थितिमा नगरपालिका अन्तर्गतका विभिन्न महाशाखा प्रमुखसँग निश्चित जिम्मेवारी, कार्यक्षेत्र र अपेक्षित नतिजासहित कार्यसम्पादन सम्झौता गरिएको हो।
कार्यसम्पादन सम्झौताले महाशाखाहरूलाई तोकिएका जिम्मेवारीप्रति थप उत्तरदायी बनाउनुका साथै कामको प्रगति, उपलब्धि र नतिजालाई समेत स्पष्ट रूपमा मूल्याङ्कन गर्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ।
स्थानीय तहमा योजना बन्ने तर त्यसको कार्यान्वयन, जिम्मेवारी र नतिजामाथि पर्याप्त जवाफदेहिता नदेखिने गुनासो भइरहेका बेला बुढानीलकण्ठले जिम्मेवारीसँगै जवाफदेहिता लाई संस्थागत गर्ने अभ्यास अघि बढाएको हो।
सम्झौतामार्फत महाशाखाहरूको कामलाई थप व्यवस्थित र समन्वयात्मक बनाउँदै सेवा प्रवाहलाई प्रभावकारी तथा नागरिकमैत्री बनाउने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले सुशासन, प्रभावकारी सेवा प्रवाह र प्रशासनिक कार्यसम्पादनलाई प्राथमिकतामा राख्दै आफ्ना महत्वपूर्ण गतिविधिलाई नतिजामुखी बनाउँदै आएको छ। कार्यसम्पादन सम्झौतालाई पनि यही अभियानको निरन्तरताका रूपमा हेरिएको छ।
काम के भयोभन्दा पनि जिम्मेवारी लिएर के नतिजा हासिल भयो भन्ने आधारमा प्रशासनिक कार्यसम्पादन मूल्याङ्कन गर्ने संस्कार विकास गर्न सके स्थानीय तहको सेवा प्रवाह थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
बुढानीलकण्ठ नगरपालिकाले पछिल्लो समय सुशासन र सेवा प्रवाहका क्षेत्रमा अघि बढाएका अभ्यासका कारण आफूलाई प्रभावकारी स्थानीय तहका रूपमा स्थापित गर्दै आएको पाइएको छ ।

