काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ। कोषका सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तरकुमार खत्री र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सोमबार उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा अन्य प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको दुःखद् परिस्थितिमा सरकारको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले नागरिक लगानी कोषले उक्त रकम प्रदान गरेको हो।
चेक हस्तान्तरण कार्यक्रममा कोष सञ्चालक समितिका सदस्य नारायणप्रसाद घिमिरे तथा निर्देशक शोभा श्रेष्ठको समेत उपस्थिति रहेको थियो।
नागरिक लगानी कोषले विपद्का समयमा राज्यको राहत तथा पुनःस्थापना प्रयासमा सहकार्य गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ। प्राप्त सहयोग रकम बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा उपयोग गरिने अपेक्षा गरिएको छ।


