बुधबारदेखि फेरि १४.२ केजी भरी ग्यास सिलिण्डर बिक्री
काठमाडौँ । नेपाल आयल निगमले बुधबारदेखि १४.२ केजी भरी एलपी ग्यास सिलिण्डर बिक्री–वितरण गर्ने निर्णय गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि निगमले आधा (७.१ केजी) सिलिण्डरको सट्टा पूर्ण तौलको ग्यास उपलब्ध गराउने व्यवस्था मिलाएको हो।
निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट ग्यास आपूर्तिमा सुधार आएपछि यो निर्णय गरिएको हो। अब उपभोक्ताले १४.२ केजी भरी ग्यास सिलिण्डर प्रतिगोटा २ हजार ६० रुपैयाँमा देशभरका डिपो तथा विक्रेताबाट खरिद गर्न सक्नेछन्। निगमले बजारमा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्दै कालोबजारी नियन्त्रणका लागि अनुगमन पनि कडा बनाइने जनाएको छ।