काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बर्ड फ्लु (एच५एन१) संक्रमण देखिन थालेपछि बुढानीलकण्ठ नगरपालिकाले नगर क्षेत्रभित्र रहेका कुखुरा व्यवसायी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
नगरपालिकाको पशु सेवा शाखाले सूचना जारी गर्दै बर्ड फ्लु नियन्त्रण तथा संक्रमण फैलिन नदिन कुखुरा फार्म सञ्चालनदेखि मासु तथा अण्डा उपभोगसम्म विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।
नगरपालिकाले बर्ड फ्लु केही स्थानमा पुष्टि भएको र यसको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै कुखुरा फार्ममा अनावश्यक व्यक्ति तथा सवारी साधन प्रवेशमा रोक लगाउन, फार्म परिसरमा जैविक सुरक्षा (बायो सेक्युरिटी) मजबुत बनाउन र सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ ।
सूचनामा कुखुरा फार्ममा काम गर्ने व्यक्तिले आवश्यक मास्क, पञ्जा, बुटलगायत सुरक्षा सामग्री प्रयोग गर्नुपर्ने, काम सकेपछि साबुन पानीले राम्रोसँग सरसफाइ गरेर मात्र बाहिर निस्कनुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, प्रयोग भइसकेका अण्डा राख्ने कागजका क्रेट पुनः प्रयोग नगर्न, दाना तथा अन्य सामग्री कुखुरा र अण्डाको सम्पर्कमा आउन नदिन, फार्म परिसरभित्र कुकुर, बिरालो, मुसा, कागलगायत पशुपन्छीको प्रवेश रोक्न पनि नगरपालिकाले आग्रह गरेको छ ।
नगरपालिकाले बर्ड फ्लु नदेखिएका स्थानबाट मात्र कुखुरा, चल्ला तथा अण्डाको उत्पादन तथा आपूर्ति गर्न र फार्ममा अचानक कुखुरा वा चल्ला मर्न थालेमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेको छ ।
यस्तै, संक्रमित कुखुराको मासु बिक्री–वितरण नगर्न तथा मृत कुखुराको सुरक्षित व्यवस्थापन गर्न पनि व्यवसायीलाई सचेत गराइएको छ ।
नगरपालिकाले बर्ड फ्लु संक्रमित कुखुराको मासु तथा अण्डा प्रयोग गर्दा जोखिम हुनसक्ने भन्दै ७० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा राम्रोसँग पकाएर मात्र खान आग्रह गरेको छ ।
बुढानीलकण्ठ नगरपालिकाले संक्रमण रोकथामका लागि व्यवसायी, कृषक र उपभोक्ता सबैको सावधानी आवश्यक रहेको उल्लेख गर्दै रोग नियन्त्रणमा सहकार्य गर्न समेत आग्रह गरेको छ ।
नगरपालिकाको भनाइ छ– समयमै अपनाइएको सावधानीले बर्ड फ्लुको सम्भावित जोखिम कम गर्न सकिने भएकाले सबै पक्ष जिम्मेवार बन्न आवश्यक छ ।


