काठमाडौँ । नेपालको पहिलो व्यावसायिक नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आगामी साउनको तेस्रो सातासम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार सुरुङ सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको छ।
करिब २.७ किलोमिटर लामो मुख्य सुरुङमार्गको भौतिक प्रगति ९९.५ प्रतिशत पुगेको छ। सुरुङमार्ग सञ्चालनका लागि १५० कर्मचारी नियुक्त गरिसकिएको छ भने टोल शुल्क संकलनका लागि आवश्यक उपकरण जडान गरिएको छ।
सञ्चालनमा आएपछि नागढुङ्गा क्षेत्रमा हुने ट्राफिक जाम कम हुने र यात्रु तथा मालवाहक सवारीसाधनलाई सहज आवागमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। दैनिक करिब ८ हजार सवारीसाधन सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ।