स्वास्थ्य बिमा भुक्तानीमा तीव्रता, अस्पताललाई रु १.०३ अर्ब निकासा
काठमाडौँ । सरकारले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत अस्पतालहरूलाई बक्यौता भुक्तानी गर्ने कार्यलाई तीव्रता दिएको छ। पछिल्लो सातामा मात्रै रु १ अर्ब ३ करोड रकम १५५ सरकारी, २५ सामुदायिक तथा ३७ निजी अस्पतालको खातामा पठाइएको छ।
स्वास्थ्य बिमा बोर्डका अनुसार विपन्न नागरिकका लागि रु ३२ करोडभन्दा बढी रकम पनि हालै भुक्तानी गरिएको छ। मिर्गौला डायलाइसिस, मुटुरोग, टाउकोको गम्भीर चोटपटक तथा स्पाइनल इन्जुरीलगायतका उपचार खर्च शोधभर्ना गरिएको हो।
स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिन सरकारले चालु आर्थिक वर्षका लागि रु १५ अर्ब बजेट विनियोजन गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बक्यौता रकम क्रमशः भुक्तानी गर्दै कार्यक्रमलाई प्रभावकारी बनाउन निगरानी र नियमन कडा गरिने बताएकी छन्।