काठमाडौं । सरकारले विद्युतीय सवारी साधन (ईभी) मा लाग्दै आएको कर प्रणालीमा ठूलो परिवर्तन गरेको छ। अबदेखि मोटरको पिक पावर (किलोवाट) का आधारमा होइन, गाडीको इन्भ्वाइस मूल्यका आधारमा कर निर्धारण हुने नयाँ व्यवस्था लागू भएको छ।
यससँगै ईभीको मूल्य संरचनामा पुनःसन्तुलन आउने देखिएको छ—केही गाडी सस्तिने र केही भने उल्लेख्य रूपमा महँगिने संकेत देखिएको छ।
पुरानो कर प्रणाली कस्तो थियो?
यसअघि ईभीमा कर निर्धारण मोटर क्षमताका आधारमा गरिन्थ्यो। ५० किलोवाटसम्मका गाडीमा ५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था थियो भने ३०० किलोवाटभन्दा माथिका गाडीमा यो दर ५० प्रतिशतसम्म पुग्थ्यो।
भन्सार महसुल १५ देखि ८० प्रतिशतसम्म रहने व्यवस्था थियो। अन्तःशुल्क, भन्सार, सडक दस्तुर र भ्याट जोड्दा ईभीमा कुल कर भार करिब ४१.४५ प्रतिशतदेखि २१० प्रतिशतसम्म पुग्ने गरेको थियो।
नयाँ कर प्रणाली के हो?
नयाँ बजेटमार्फत सरकारले अन्तःशुल्क पूर्ण रूपमा हटाएर “स्वच्छ पूर्वाधार लगानी शुल्क” लागू गरेको छ।अब: भन्सार महसुल २० प्रतिशत,स्वच्छ पूर्वाधार लगानी शुल्क: मूल्यका आधारमा फरक-फरक दर,भ्याट १३ प्रतिशत,सडक दस्तुर: ५ प्रतिशत (यथावत),यसपछि ईभीमा कुल कर भार करिब ४४ प्रतिशतदेखि २१७ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ।
मूल्य अनुसार कर दर
नयाँ व्यवस्थाअनुसार२० लाखसम्मका गाडी कर करिब ४४%,२०–३० लाखमा कर करिब ६८%,३०–४० लाखमा कर करिब ८८%,४०–५० लाखमा कर करिब १६३%,५० लाखभन्दा माथि कर करिब २१७% छ।
यद्यपि २०–३० लाखको दरबारे आर्थिक विधेयक र अर्थ मन्त्रालयको व्याख्यामा केही भिन्नता देखिएको छ।
कुन गाडी सस्तिन्छन्?
नयाँ कर प्रणालीले कम मूल्य तर उच्च पावर भएका ईभीलाई केही राहत दिएको देखिन्छ।जस्तै, जेको सिक्स (१३५ kW) र जिली ग्यालेक्सी (१६० kW) जस्ता गाडीमा कर भार पहिले करिब ८१.२८ प्रतिशतसम्म थियो भने अहिले घटेर करिब ६७.७२ प्रतिशतमा झरेको अनुमान छ। यसले यी गाडीको मूल्य करिब १३ प्रतिशतसम्म सस्तो हुन सक्ने देखिन्छ।त्यस्तै, जेको जेफाइभ, बीवाईडी एट्टो टु, लिपमोटर र प्रोटोनका केही मोडलहरू पनि सस्तो पर्ने सम्भावना छ।
मूल्य खासै नबढ्ने गाडीहरू
कम पावर र कम मूल्य भएका गाडीहरूमा ठूलो असर नपर्ने देखिन्छ।उदाहरणका लागि टाटा टियागो (४८ kW),बीवाईडी एट्टो वान,
यी गाडीमा कर करिब २–३ प्रतिशत मात्र बढ्ने भएकाले बजार मूल्यमा ठूलो परिवर्तन नआउने अनुमान छ।
त्यस्तै टाटा टिगोर, टाटा एस, ओमोडा फाइभ, महिन्द्रा ट्रियो, फर्थिङ, नामी, दीपाल, बीवाईडी सिलायन लगायतका मोडलमा पनि सामान्य मात्र मूल्य वृद्धि हुने देखिन्छ।
कुन गाडी महँगिन्छन्?
२५ लाखभन्दा माथि मूल्य भएका तर मध्यम पावरका ईभीमा कर वृद्धि देखिएको छ।उदाहरणका लागि बीवाईडी एट्टो थ्रीमा कर करिब ६०.९४ प्रतिशतबाट बढेर ६७.७२ प्रतिशत पुगेको छ।महिन्द्रा बीई सिक्समा कर ६०.९४ प्रतिशतबाट बढेर करिब ८८.०६ प्रतिशत पुगेको देखिन्छ।
यसको अर्थ यी गाडीहरूमा कर भार क्रमशः करिब ७ प्रतिशतदेखि २७ प्रतिशतसम्म बढ्ने सम्भावना छ।
लक्जरी ईभीमा ठूलो झट्का
सबैभन्दा ठूलो असर महँगा ईभीमा पर्ने देखिएको छ।टेस्ला ईभीमा कर करिब ८१.२८% बाट बढेर १६२.६४% पुग्ने अनुमान छ।बीएमडब्लू ईभीमा कर २१६.८८% सम्म पुग्न सक्ने देखिन्छ।यसले यी गाडीहरूको मूल्य अत्यधिक बढाउनेछ। अडी, दीपाल र अन्य प्रिमियम ईभीमा पनि करको भार उल्लेख्य रूपमा बढ्नेछ।


