ADVERTISEMENT

पत्रकारका हकहित र प्रेस स्वतन्त्रताका लागि महासंघको आन्दोलन घोषणा

काठमाडौँ। नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।

समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउन खोजिएको तथा सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको भन्दै महासंघले विरोध जनाएको छ।

त्यस्तै, पत्रकारको श्रम अधिकार उल्लंघन, सञ्चारमाध्यममा अवरोध गर्नेहरूमाथि कारबाही नभएको र लोककल्याणकारी विज्ञापनबापतको रकम उपलब्ध नगराइएको विषयलाई पनि महासंघले आन्दोलनको कारण बनाएको छ।

घोषित कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ। मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाइनेछ। मंसिर ५ र ६ गते पेसागत संघसंस्थासँग छलफल तथा मंसिर ७ गते जिल्ला तहमा सञ्चारसम्बद्ध संघसंस्थासँग अन्तरक्रिया गरिनेछ।

त्यस्तै, मंसिर ९ गते देशभरका जिल्ला शाखाले जिल्ला प्रशासन कार्यालयमा भेला भई ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गर्ने महासंघले जनाएको छ।

महासंघले माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ।

आन्दोलनका कार्यक्रम
२०८३ मंसिर २ गते – प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने ।
२०८३ मंसिर ५ गते – संसद्मा प्रतिनिधित्व गर्ने सबै पार्टी प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने ।
२०८३ मंसिर ५ र ६ गते – शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग छलफल गर्ने ।
२०८३ मंसिर ७ गते – सबै जिल्ला शाखाले सञ्चारसम्वद्ध संघसंगठनसँग छलफल गर्ने ।
२०८३ मंसिर ९ गते – जिल्ला शाखाको आयोजनामा सबै जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामुहिक गिरफ्‌तार गर’ भन्ने व्यानरसहित भेला हुने ।
माग पूरा नभए थप आन्दोलन तय गर्ने ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार