ADVERTISEMENT

चार महिनामा १९ अर्ब ५५ करोडको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो चार महिनामा नेपालमा १९ अर्ब ५५ करोड २८ लाख रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

उद्योग विभागका अनुसार साउनदेखि कात्तिकसम्म ४९७ वटा उद्योग तथा परियोजनाका लागि उक्त लगानी स्वीकृत भएको हो। स्वीकृतिमध्ये ४८० वटा परियोजना स्वचालित मार्ग र १७ वटा नियमित प्रक्रियामार्फत आएका छन्।

क्षेत्रगत रूपमा परियोजनाको संख्याका आधारमा सूचना तथा सञ्चार प्रविधि क्षेत्र अगाडि रहे पनि लगानी रकमका आधारमा पर्यटन क्षेत्र पहिलो स्थानमा छ। पर्यटन क्षेत्रमा ८ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने ऊर्जा क्षेत्रमा तीन परियोजनाका लागि ४ अर्ब ५ करोड रुपैयाँ प्रस्ताव गरिएको छ।

स्वीकृत परियोजनाबाट ६ हजार २०१ जनालाई रोजगारी दिने प्रतिबद्धता आएको विभागले जनाएको छ।

यद्यपि, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएकोमा यस वर्ष घटेर १९ अर्ब ५५ करोडमा सीमित भएको छ।

यसैबीच, चार महिनामा विदेशी लगानीका कम्पनीले लाभांश, रोयल्टी तथा सेवा शुल्कबापत ४ अर्ब ७८ करोड ६५ लाख रुपैयाँभन्दा बढी रकम विदेश लगेका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार