ADVERTISEMENT

नक्कली इमेलमार्फत माइक्रोसफ्ट ३६५ खाता ह्याक गर्ने फिसिङ अभियान सक्रिय

काठमाडौं ।  साइबर अपराधीहरूले नक्कली सेवा अवरुद्धसम्बन्धी इमेल पठाएर माइक्रोसफ्ट ३६५ का व्यावसायिक खातामा पहुँच बनाउने नयाँ फिसिङ अभियान सञ्चालन गरिरहेको माइक्रोसफ्टले खुलासा गरेको छ।

माइक्रोसफ्टका अनुसार, विश्वभरका विभिन्न उद्योग तथा संस्थालाई लक्षित गरिएको उक्त अभियानमा आक्रमणकारीहरूले एक्सचेन्ज अनलाइनमा समस्या आएको र प्रयोगकर्ताका इमेल रोकिएको भन्दै नक्कली सूचना पठाइरहेका छन्। ती इमेलमा २४ घण्टाभित्र सन्देश पुनःस्थापना नगरे मेटिने चेतावनी दिँदै शंकास्पद लिंकमा क्लिक गर्न प्रोत्साहित गरिन्छ।

यसरी पठाइएका इमेललाई विश्वसनीय देखाउन आउटलुक, टिम्स, सेयरपोइन्ट र कोपाइलटजस्ता माइक्रोसफ्टका सेवाको नाम प्रयोग गरिएको छ। माइक्रोसफ्टले moments-notice.com, planetmaison.com लगायतका शंकास्पद डोमेन पहिचान गरेको जनाएको छ।

कम्पनीका अनुसार, यो अभियानको मुख्य उद्देश्य प्रयोगकर्ताको लगइन विवरण चोरी गर्नु हुन सक्ने अनुमान गरिएको छ। यद्यपि हालसम्म खातामा अनधिकृत पहुँच वा लगइन विवरण चोरी भएको पुष्टि गर्ने प्रमाण फेला परेको छैन।

माइक्रोसफ्टले प्रयोगकर्तालाई अपरिचित इमेलका लिंकमा क्लिक नगर्न, सेवा अवरुद्ध भए–नभएको आधिकारिक एडमिन सेन्टरमार्फत जाँच गर्न र मल्टि–फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न आग्रह गरेको छ। साथै, शंकास्पद लिंकमा क्लिक गरी लगइन विवरण प्रविष्ट गरेको आशंका भए तत्काल पासवर्ड परिवर्तन गर्न र सक्रिय सेसनहरू रद्द गर्न सुझाव दिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार