ADVERTISEMENT

ग्यास अभाव चर्कियो, नयाँ सिलिन्डर बिक्री रोक्न विक्रेता महासंघको माग

काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि ग्यास विक्रेता महासंघ नेपालले नेपाल आयल निगमको ध्यानाकर्षण गराएको छ।

महासंघले बजारमा पर्याप्तभन्दा बढी सिलिन्डर रहेको अवस्थामा ग्यास उद्योगहरूले २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको दाबी गरेको छ। उपभोक्ताले लामो समयदेखि ग्यासका लागि लाइन बस्नुपरेको अवस्थामा उद्योगबाटै नयाँ सिलिन्डर बिक्री हुनु विरोधाभासपूर्ण भएको महासंघको भनाइ छ।

महासंघले उद्योगबाट हुने खुद्रा बिक्री तत्काल रोक्दै डिलरमार्फत मात्रै ग्यास बिक्री गर्ने व्यवस्था गर्न माग गरेको छ। साथै, बजारमा रहेका १४.२ केजी क्षमताका घरेलु सिलिन्डरको उचित व्यवस्थापन नगरी ५, १९, ५० र ४५० केजी क्षमताका नयाँ सिलिन्डर थप्ने योजनाप्रति पनि असन्तुष्टि जनाएको छ।

महासंघका अनुसार केही ठूला बिक्रेतालाई मात्रै प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइँदा उपत्यकाका साना विक्रेताले पछिल्लो तीन महिनादेखि पर्याप्त ग्यास पाउन सकेका छैनन्। यसका कारण आम उपभोक्ता अझै पनि ग्यासका लागि सास्ती व्यहोर्न बाध्य छन्।

महासंघले ग्यास अभावको वास्तविक कारण पहिचान गरी उद्योग, निगम, सरकार र विक्रेताबीच समन्वय गरेर नियमित आपूर्ति सुनिश्चित गर्न माग गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार