काठमाडौं । नेपालमा विद्युतीय सवारी (ईभी) र विद्युतीय चुलोको प्रयोग बढेसँगै खनिज इन्धनको आयात घट्दै स्वदेशी विद्युत्को आन्तरिक खपत बढ्न थालेको छ।
भन्सार विभाग तथा पूर्वाधार विकास मन्त्रालयको तथ्यांकअनुसार कुल सवारी आयातमा विद्युतीय सवारीको हिस्सा करिब ८० प्रतिशत पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्युत्को उच्च मागसमेत बढेर ३ हजार २६१ मेगावाट पुगेको छ। गत वर्ष उच्च माग करिब २ हजार २०० मेगावाट थियो।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले स्वदेशी विद्युत्को खपत बढ्दा देशभित्रै रकम रहने र विदेशी मुद्रा बाहिरिनबाट जोगिने भएकाले सरकारले विद्युत् प्रयोगलाई थप प्रोत्साहन गर्नुपर्ने बताए।
इन्धन आयात घट्नुमा ईभीसँगै विद्युतीय चुलोको बढ्दो प्रयोगलाई मुख्य कारण मानिएको छ। एलपीजी ग्यासको सहज उपलब्धता नहुँदा पनि उपभोक्ताहरू विद्युतीय चुलोतर्फ आकर्षित भइरहेका छन्।
इप्पानका महासचिव टीएन आचार्यले ईभीको प्रयोगले स्वदेशी विद्युत् खपत बढाउनुका साथै वायु प्रदूषण न्यूनीकरणमा समेत सहयोग पुग्ने बताए। उनका अनुसार ईभीको दिगो प्रयोगका लागि प्रसारण तथा वितरण प्रणालीको गुणस्तर सुधार, चार्जिङ पूर्वाधार विस्तार र उपभोक्तालाई विद्युत् खपतमा प्रोत्साहन गर्ने नीति आवश्यक छ।
हाल देशभर चार्जिङ स्टेसन विस्तार भइरहेका छन्। दैनिक करिब २२ सय चार्जिङ स्टेसनमार्फत करिब २५ मेगावाट विद्युत् चार्जिङमा खपत भइरहेको जनाइएको छ।
हाल देशको कुल जडित विद्युत् क्षमता करिब ४ हजार ५०० मेगावाट पुगेको छ। आन्तरिक मागसँगै विद्युत् निर्यातसमेत भइरहेको अवस्थामा स्वदेशमै विद्युत् खपत बढाउन विद्युतीय सवारी, विद्युतीय चुलो तथा अन्य विद्युतीय उपकरणको प्रयोग विस्तार गर्नुपर्ने ऊर्जा क्षेत्रका व्यवसायीहरूको भनाइ छ



प्रतिक्रिया