काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीबाट क्षतिग्रस्त ऊर्जा संरचनाको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि करिब ३ खर्ब ९० अर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीबाट जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको छ। प्रारम्भिक मूल्याङ्कनमा प्रभावित संरचनाको लगानी मूल्य करिब १ खर्ब २४ अर्ब रुपैयाँ रहे पनि पुनर्निर्माणका क्रममा संरचनागत परिवर्तन, मूल्यवृद्धि र नदीको सतह बढेकाले लागत बढ्ने अनुमान गरिएको हो।
बाढीबाट करिब ४३० मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित भएका छन्। निर्माणाधीन १३ आयोजनामध्ये ६ आयोजनाको करिब ५०८ मेगावाट क्षमता पनि प्रभावित भएको मन्त्रालयले जनाएको छ।
त्रिशूली–३ बी हब सबस्टेसनमा भएको क्षतिका कारण उत्पादन भएको विद्युत् प्रसारणमा समेत समस्या आएको छ। सरकारी द्रुत क्षति तथा आवश्यकता आकलनअनुसार ऊर्जा तथा ग्रिड प्रणाली पुनर्स्थापनाका लागि ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने देखिएको छ।
मन्त्रालयले बढ्दो जलवायुजन्य विपद्का कारण ऊर्जा पूर्वाधारमा जोखिम बढ्दै गएको जनाएको छ। जलवायु परिवर्तनका असरलाई ध्यानमा राख्दै जलाशययुक्त आयोजना र सौर्य ऊर्जाको विस्तारसँगै पूर्वाधारलाई थप जलवायु–उत्थानशील बनाउनुपर्नेमा जोड दिइएको छ।



प्रतिक्रिया