ADVERTISEMENT

सुधारको घोषणा तीव्र, सेयर बजारमा भने खरिद चाप कमजोर


काठमाडौँ । सरकारले पुँजी बजार सुधारका लागि नीतिगत, कानुनी र संरचनागत प्रक्रिया अघि बढाए पनि त्यसको तत्काल प्रभाव सेयर बजारमा देखिएको छैन। पछिल्ला तीन कारोबार दिनमा नेप्से परिसूचक ३० दशमलव ९१ अंकले घटेर बुधबार २ हजार ५ सय ९८ दशमलव ८९ विन्दुमा झरेको छ।

बुधबार नेप्से ४ दशमलव ८२ अंकले घट्दा ३ सय ५२ कम्पनीका १ करोड २६ लाख ५५ हजार कित्ता सेयर कारोबार भए। कुल कारोबार रकम ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँ पुगेको छ। १ सय ५७ कम्पनीको सेयर मूल्य घट्दा १ सय ९ कम्पनीको बढेको छ।

यसबीच नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, नेप्से तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आईपीओ प्रक्रिया व्यवस्थित गर्ने, बजार पूर्वाधार र प्रविधि सुधार गर्ने तथा नियमन प्रभावकारी बनाउने विषयमा काम अघि बढाएका छन्। अर्थ समितिले नयाँ धितोपत्र विधेयक ल्याउन, नेप्सेको पुनःसंरचना गर्न र बजारमा हुने कृत्रिम माग–आपूर्ति तथा मिलेमतोको कारोबार नियन्त्रण गर्न पनि निर्देशन दिएको छ।

सरकारले दीर्घकालीन लगानीमा पुँजीगत लाभकर ३ दशमलव ७५ प्रतिशत र अल्पकालीन लगानीमा ५ प्रतिशत कायम गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सूचीकृत सेयर तथा ऋणपत्र बिक्री गर्नुअघि कायम गर्नुपर्ने न्यूनतम अवधि पनि ६ महिनाबाट घटाएर ४५ दिनमा झारेको छ।

तर ब्याजदर र तरलता सहज भए पनि सेयर बजारमा नयाँ लगानीको प्रवाह र खरिद चाप अपेक्षाअनुसार बढेको छैन। बजारमा सुधारका घोषणा र नीतिगत परिवर्तनभन्दा तिनको प्रभावकारी कार्यान्वयन, लगानीकर्ताको विश्वास र कम्पनीहरूको वित्तीय प्रदर्शन महत्वपूर्ण हुने देखिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार